धनगढीलाई हराउँदै ललितपुरले जित्यो नेपाल सुपर लिग उपाधि
Janjati Khabar – Janjati Khabar | २०८० पौष १५, आइतबार
काठमाडौं— नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।
शनिबार काठमाडौंको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ ।
गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन ।
ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश हेमजन र ५८ औं मिनेटमा पनि इमोह इजेकेलले गोल गरे ।
नेपाल सुपर लिगको विजेता टोली ललितपुर सिटी एफसीका कप्तान अनन्त तामाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । योसँगै उनले गोल्डन बल हात पारेका हुन् ।
ललितपुरकै इमोह इजेकिएलले ६ गोल गर्दै गोल्डन बुट जिते । ललितपुरबाटै गोलकिपर जेफरी बाल्टुसले उत्कृष्ट गोलकिपर बन्दै गोल्डन ग्लोभ हात पारे । धनगढी एफसीका युवा खेलाडी रोहन कार्कीले इमर्जिङ प्लेयर अफ द सिजनको उपाधि जिते ।
अनन्त तामाङले २ लाख रुपैयाँ पुरस्कार जित्दा अन्य विजेताहरुले १-१ लाख रुपैयाँ जितेका छन् ।
Categorized in खेलकुद

