प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य जन्म जयन्ती
Janjati Khabar – Janjati Khabar | २०८१ जेठ १०, बिहिबार
खस नेपाली भाषाको एकल सन्चार माध्यमं को प्रभाव चर्किरहेको समयमा आफ्नो मातृभाषा नेपालभाषामा पत्रिका निकालेर प्रथम मातृभाषा पत्रकार बन्नु भएका धर्मादित्य धर्माचार्यको १२२ औं जन्मजयन्तीको अवसरमा नेपालभाषाका पत्रकार सुगतरत्न सिन्दुराकारलाई धर्मादित्य पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । सो समारोह नेवाः पत्रकार राष्ट्रिय दबु ललितपुरका अध्यक्ष मन्जु बज्राचार्यको सभापतित्वमा सम्पन्न भएको थियो भने दबुका निवर्तमान केन्द्रिय अध्यक्ष सुरजबीर बज्राचार्य, पुरस्कारका दाता समाजसेवी सरिता महर्जन, अादिबासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष गजुरधन राइ , नेपालभाषा मंका खलः ललितपुर का अध्यक्ष हिराकाजी महर्वन लगायत विशेष अतिथीका रुपमा रहनु भएको थियो ।
नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको आयोजनामा एक समारोहका बीच करिब ३ दशकदेखि नेपालभाषाको माध्यमबाट पत्रकारिता गर्दै आएका सिन्दुराकारलाई पुरस्कृत गरिएको हो । १०० बर्ष अघि भारतको कोलकताबाट “बुद्धधर्म र नेपालभाषा” पत्रिका सम्पादन तथा प्रकाशन गर्नुभएका धर्माचार्यको यही पत्रिका मातृभाषा पत्रकारिताकै प्रथम पत्रिका हो ।
राणाकालीन त्यो समयमा नेपालभाषामा पत्रिका प्रकाशन गरेर मातृभाषा पत्रकारिताको विजारोपण गर्नुभएको धर्माचार्य बुद्ध जयन्तीको अवसरमा बुद्धप्रतिमासहित नगर परिक्रमा गर्ने परम्परा थाल्नले समाज सुधारक नेतृत्वदायी ब्यक्तित्वका रुपमा उल्लेख गरिन्छ ।
धर्माचार्यको जन्मजयन्ती अवसरमा ९ औं मातृभाषा पत्रकारिता दिवस मनाउँदै ललितपुर महानगरको पुल्चोकस्थित धर्मादित्यको प्रतिमामा माल्र्यापण गरी प्रभातफेरी पनि गरेको छ । बाजागाजासहित पुल्चोकबाट अघि बढेको ¥याली धर्मादित्य धर्माचार्यको जन्म स्थान सप्तपुृर महाविहार चिकंबहीमा पुगी सभामा परिणत भएको थियो ।
सभामा वक्ताहरुले महत्वपूर्ण योगदानको कदर एवं ब्यक्तित्वको पहिचानमा राज्य चुक्नु अनुचित भएकोप्रति ध्यानाकर्षण गराएका थिए । समारोहमा पत्रकार दबू ललितपुर शाखाको आयोजनामा केही समय अगाडि सम्पन्न भएको “आधारभूत पत्रकारिता तालिम”का प्रशिक्षकहरु पुष्करभक्त माथेमा, सुरेशकिरण मानन्धर, श्रीकृष्ण महर्जन, सुरजवीर बज्राचार्य लगायतलाई सम्मान गरिनुका साथै प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।


