STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रजातन्त्र दिवस जनताको दिवस हो : प्रथम राष्ट्रपति यादव

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण ८, बिहिबार

काठमाडौँ - सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको बताएका छन्  । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कुराकानी गर्दै नेपालको राजनीतिक इतिहासमा फागुन ७ महत्वपूर्ण भएकाले सबै नेपालीले गौरवपूर्ण ढङ्गबाट यो दिवस मनाउन आह्वान गरे ।

पूर्वराष्ट्रपति यादवले भने, ‘यो जनताको दिवस हो । जनताका अधिकार प्राप्तिका सन्दर्भमा कोसेढुङ्गाका रुपमा यो दिनलाई लिनुपर्छ । २००७ को परिवर्तन जुन ढङ्गबाट भयो  जनताको अधिकार  प्राप्तिको लडाइँबाट जनता स्वतन्त्रता भएको दिन हो, आज ।’

फागुन ७ गते लोकतान्त्रिक राजनीतिक स्थापना गर्न मार्ग निर्देशन गरेको बताउँदै उनले मुलुकमा धेरै उतारचढाव हुँदै विसं २०४६ र २०६२/०६३ को जनआन्दोलनमार्फत सामन्ती संस्थाको निर्मूल र नष्ट गरी अघि बढ्न सम्भव भएको धारणा राखे ।

पूर्वराष्ट्रपति डा.यादवले भने- ‘अहिले मुलुकले सभ्य समाज उपभोग गरिरहेको छ, त्यसको मूल जरो भनेको २००७ साल हो । जुन मुलुकको राजनीतिक इतिहासमा त्यति ठूलो योगदान कहिलै भएको थिएन । त्यो धेरै ठूलो परिवर्तन थियो ।’

मुलुक सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षसहित लोकतान्त्रिक  गणतन्त्रको अभ्यासमा रहेको बताउँदै उनले  त्यो प्राप्तिको मुख्य जग भनेको नै २००७ को राजनीतिक परिवर्तन भएको टिप्पणी गरे ।

प्राप्त उपलब्धि र  विविधताको रक्षा र एकीकरण गर्दै लैजानुपर्ने आजको आवश्यकता भएको बताउँदै पूर्वराष्ट्रपति डा यादवले सबैका राजनीतिक,आर्थिक,सामाजिक र  धार्मिक अधिकार तथा न्यायमा पहुँच स्थापित गरी जनताको आशालाई व्यवस्थित तुल्याउन सुझाव दिए ।

Categorized in राष्ट्रिय