७३ वर्षमा नागरिकता, बल्ल पाइने भो भत्ता
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार
कुनै बेला नागरिकता नपाएर छटपटिनुभएका जिल्लाको जोरायल गाउँपालिका–२ का पुरनसिंह खत्री हिजोआज निकै खुशी हुनुभएको छ । जीवनको उत्तरार्धमा पुग्नुभएका खत्रीले लामो समयपछि नेपाली नागरिकता पाउँदा खुशी हुनुभएको हो ।
जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको सहकार्यमा उहाँकै घर नजिक एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि उहाँले ७३ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको हो । नातिनातिनाले नागरिकता पाए पनि उहाँले नागरिकता लिन जिल्ला सदरमुकाम सिलगढीसम्म जान नसक्दा अहिलेसम्म नागरिकता पाउनुभएको थिएन । एकीकृत घुम्ती शिविरले घरैमा नागरिकता दिएपछि खुशी हुनुभएका खत्रीले भन्नुभयो, “अरु कुरो त छोडौँ नागरिकता नपाएरै मर्छु भन्ने सोचेको थिएँ, नागरिकता घरैमा दिए दिनेलाई धन्यवाद ।”
नागरिकता पाएसँगै खत्रीले अब सामाजिक सुरक्षाभत्ता अर्थात् वृद्धभत्ता पनि सहजै पाउनु हुनेभएको छ । नागरिकता नभएर भत्ता नपाउँदा आफ्नो जीवन निर्वाह गर्न निकै समस्या भएको बताउँदै खत्रीले भन्नुभयो, “नागरिकता पाएँ, अब मर्ने बेला सरकारको पैसा पनि खान पाउने भएँ, योभन्दा अरु खुशी के नै होला र रु” खत्रीले घरैमा नागरिकता पाएसँगै उहाँको परिवारमा पनि खुशियाली छाएको छ ।
उक्त गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती सेवा शिविरमा ४७५ महिला र ३५३ पुरुष गरी ८२७ अन्य नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । नागरिकता लिनका लागि जिल्लासम्म आउन नसक्ने अवस्थाका सो गाउँपालिकाका केही स्थानीय बूढापाका घरैमा नागरिकता पाएसँगै हर्षितसमेत भएका छन् ।
जनताको घरदैलोमा सरकारको उपस्थिति गराई जनतालाई सर्वसुलभ र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ शिविरको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला अधिकारी तथा शिविरका संयोजक टेकनारायण पौड्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्षरूपमा सेवा पुगोस् भनेर हामीले घुम्ती शिविर सञ्चालन गर्दै आएका छौँ, नागरिकले पनि घरैमा सेवा पाएर सरकार भएको अनुभूति गर्न थालेका छन् ।”
गाउँपालिकामा मङ्गलबारदेखि सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा जिल्लामै सबैभन्दा बढी अर्थात् ठूलो परिमाणमा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्नुका साथै अन्य सेवा पनि उपलब्ध गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा सञ्चालन भएका शिविरमध्ये हाम्रो गाउँपालिकामा सबैभन्दा बढी नागरिकले नागरिकता पाएका छन्, यो आफैँमा राम्रो पक्ष हो ।”
जिल्ला प्रशासन कार्यालय डोटीले दिएको जानकारीअनुसार शिविरमा ८२७ ले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता, ६९ को स्वास्थ्योपचार तथा चेकजाँच, ६२ जनाले आयुर्वेद सेवा, १३३ ले पशुसेवा, ६० ले कृषि सेवा पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच सहकार्य गरेर डोटीमा पहिलोपटक बोगटान गाउँपालिकाबाट शुरु गरिएको एकीकृत घुम्ती शिविर क्रमशः सायल गाउँपालिका, आदर्श गाउँपालिका हुँदै चौथो स्थानीय तहको रुपमा जोरायल गाउँपालिकामा सञ्चालन गरिएको हो ।


