विष्टले स्थापना गरेको कर्णाली इन्स्टिच्युट अलपत्र
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार
जुम्लाको पातारासी गाउँपालिका–६ मा नेपालका चर्चित मानवशास्त्र तथा समाजशास्त्रका पिता डोरबहादुर विष्टले स्थापना गर्नुभएको कर्णाली इन्स्टिच्युट अहिले अलपत्र अवस्थामा छ ।
देशको विभिन्न भागको अनुसन्धान गर्नुभएका उहाँले विसं २०४२ मा तत्कालीन नेता भीमप्रसाद श्रेष्ठसँग जुम्ला आएर यहाँको सामाजिक, आर्थिक,साँस्कृतिक र भाषिक विकासका लागि सो केन्द्र खोल्नुभएको थियो ।
जुम्लाको साविक डिल्लीचौर गाविसको चौधबिस क्षेत्रमा गुणस्तरीय शिक्षा, बिजुलीबत्ती बाल्नेलगायत थुप्रै विकास तथा निर्माणका काम थालिएको यहाँका पाका व्यक्ति बताउँछन् ।
मानवशास्त्री तथा समाजशास्त्री विष्टले विसं २०५० मा डिल्लीचौरमा रहेको ऋणमोक्ष मावि भवन निर्माण र तिर्खु गाउँमा एक किलोवाटको पावरहाउस निर्माण गरी जम्न र लासी गाउँमा उज्यालो पार्नुभएको उक्त इन्स्टिच्युटका कर्मचारी तथा तिर्खु गाउँका समाजसेवी दीपक ऐडीले बताउनुभयो ।
चौधबिसका धुलाम्मे बाटोमा ढुङ्गा विछ््याएर बाटो बनाउने, छुवाछुत अन्त्यका लागि गाउँ÷गाउँमा अन्तक्र्रिया गर्नेदेखि खस सभ्यताबारे अनुसन्धानको कामसमेत गर्नुभएका विष्ट जुम्लाबाट फर्केपछि बेपत्ता हुनुभएकामा आफूहरू चिन्तित भएको उहाँले बताउनुभयो ।
यसैगरी विद्यालयमा दक्ष स्वादेशी तथा विदेशी शिक्षक ल्याएर अङ्ग्रेजी विषयको अध्यापन गराउनाका साथै अन्य सामाजिक विकासका कार्यक्रममा उहाँको योगदान रहेको उक्त गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले जानकारी दिनुभयो ।
विसं २०५२ मा जुम्लाबाट घर जान्छु भनेर हवाईजहाज चढ्नुभएका उहाँ फेरीपनि पर्कनुहोला भन्ने आशामा रहँदा रहँदै २३ वर्ष पुग्यो अझै पनि आउनुहुन्छ कि भन्ने आशा लागेको उक्त इन्स्टिच्युटका कर्मचारी ऐडीले जोड दिनुभयो ।
बाहिरबाट हेर्दा उक्त भवन राम्रै देखिए पनि भित्र छाना छाएको काठ भत्किएर चोरी हुनाका साथै द्वन्द्वकालअघिसम्म सञ्चालन हुँदै आएको पुस्तकालयको हजारौ किताव हराएर अहिले बेवारिसे भएको छ ।
उक्त इन्स्टिच्युट संरक्षणका लागि रु १० लाख विनियोजन गरिएको सोही गाविसका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । सो भवनलाई अव विष्टको परिवारसँग सल्लाह गरेर गाउँपालिकाले सरकारी कामकाजको इन्स्टिच्युटको रुपमा प्रयोगमा ल्याउन गर्न पहल गरिने अध्यक्ष बोहराले बताउनुभयो ।
पछिल्लो समय उक्त इन्स्टिच्युट अवलोकन गर्न गाउँपालिका अध्यक्ष बोहरा, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेलगायत पदाधिकारी त्यहाँ पुग्नुभएको थियो । त्यसबेला त्यहाँ रोपिएका पिपलका बोटसहितको सल्लाको बगैँचा अहिले पनि छ । समाजशास्त्री र विष्ट विसं २०५२ पुस २७ गते नेपाल एयरलाइन्सको जहाज चढेर जुम्लाबाट उडेपछि बेपत्ता हुनुभएको थियो ।
विसं १९८३ माघ ४ गते ललितपुरमा जन्मनुभएका डोरबहादुर विष्टले प्रवेशिका परीक्षा उत्रिर्ण गरी भारतको पटनाबाट प्रमाणपत्र तह र बेलायतबाट मानशास्त्रमा स्नातक गर्नाका साथै अध्ययनका क्रममा त्यहाँका प्राध्यापकसँग नेपाली मानवशास्त्र अनुकूल आफूले विश्लेषण र अध्ययन गर्न पाउनुपर्ने फरकमत राखी स्वदेश फर्कनुभएकाले उहाँलाई नेपाली मानव शास्त्रका पिता भनिएको जानकारहरू बताउँछन् ।
उहाँले सामुदायिक विद्यालयको शिक्षक, प्रधानाध्यापक हँुदै त्रिभुवन विश्वविद्यालयको प्राध्यापक र विभागीय जिम्मेवारी सम्भाल्नु भएको थियो ।
Categorized in राष्ट्रिय


