STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँ जात्रा सुरु

Janjati Khabar – Janjati Khabar | २०८२ आश्विन २३, बिहिबार

काठमाडौं- ब्रह्मा, विष्णु र महेश्वर भगवान्को पूजाआराधना गरी टोल टोलमा रथ (खट) घुमाएर बुधबार हाँडीगाउँको जात्रा मनाइएको छ । विशेष प्रकारको फूल र रथ परिक्रमा गरिने छुट्टै मौलिकता र विशेष पहिचान बोकेको हाँडीगाउँको जात्रा प्रत्येक वर्षको बडादसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्ट हाँडीगाउँमा मनाइँदै आएको छ ।

विश्वकर्माले बनाएका यी त्रिदेवको एकै पटक दर्शन र पूजाका साथै जात्राको दर्शन गर्नाले घरमा महालक्ष्मीको बास र मनोकामना पूरा हुने जनविश्वास रहेको स्थानीय कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनले कोजाग्रत पूर्णिमाको दिन मूर्तिहरू बाहिर निकालेपछि औपचारिक रूपमा जात्रा सुरु हुने बताए ।

तीन दिनसम्म मनाउने जात्रामा निकालिएका तीन वटा रथलाई नगर परिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ साथै रथ सजाउन प्रयोग भएको मैनको बासनादार फूल रथको गजुर घुमाउँदा खस्ने हुँदा फूल टिप्नेको भिड हुने गर्दछ । यो फूललाई प्रसूति पीडामा रहेकी महिलालाई सुघाउँदा पीडा कम हुने विश्वास गरिन्छ ।

सत्यनारायणलाई खुसी पार्न मनाइने भएकाले स्थानीय यसलाई ‘सत्यनाराणको जात्रा’ का रूपमा मनाउँछन् । अन्य जात्राको तुलनामा सबै कुरा उल्टो भएकाले यस जात्रालाई कहीँ नभएको जात्राका रूपमा चिन्ने गरेको स्थानीय बाबुराम महर्जनले बताए । उनले जात्राका क्रममा ब्रह्मा, विष्णु र महेश्वरको तीन वटा रथलाई टोल टोल परिक्रमा गराइने जानकारी दिँदै भने,  “यसरी परिक्रमा गराइने तीन वटा रथ उल्टो हुन्छ ।” 

एउटी महिला गर्भधारण गरेर पनि १२ वर्षसम्म सुत्केरी नभएपछि हिमालय पर्वतमा गई नारायणको आराधना गरेको किंवदन्ती पाइन्छ । नारायणलाई आफूले कहीँ नभएको जात्रा देखाउने भनेर खुसी पारी सुत्केरी भएकाले यो जात्रा मनाउन थालेको भन्ने विश्वास रहेको छ । सो महिलाले नारायणलाई खुसी पारी आफ्नो मनोकामना पूरा गरेपछि काठमाडौँको हरिगाउँ (हाँडीगाउँ) मा आएर यो जात्रा सुरु गरेको भन्ने विश्वास छ ।

Categorized in राष्ट्रिय