STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १६, सोमबार

उपत्यकाको प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । 
ट्राफिक प्रहरी, काठमाडौँ महानगरपालिका र यातायात व्यवसायीबीच यसअघि भएको सहमतिअनुसार आइतबारदेखि कोटेश्वर चोकमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको हो । 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै सवारी जाममा कमी हुने बताउनुभयो । 
“धेरै सवारी साधन ओहोरदोहोर गर्ने प्रमुख चोक कोटेश्वरमा ‘पिक एण्ड ड्रप’ लागू गरेसँगै काभ्रे जगाती नाका हुँदै आउने सवारी साधनलाई काठमाडौँ भित्रन सहज हुनेछ”, उहाँले भन्नुभयो । सवारी साधनले यात्रु कुर्दा जाम अत्याधिक हुने गरेपछि उक्त व्यवस्था लागू गरिएको हो । 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उक्त व्यवस्था लागू भएसँगै कोटेश्वर चोकमा हुने जाममा कमी आउँने हुँदा यातायात व्यवसायी, चालक तथा सहचालकलाई घण्टौँ जाममा बस्नुपर्ने वाध्यता हट्ने बताउनुभयो । जाम हटेसँगै एउटै सवारी साधन धेरैपटक ओहोरदोहोर गर्दा धेरै आम्दानीसमेत हुने उहाँको भनाइ छ । 
यसअघि जमल, पुरानो बसपार्क, शहीदगेट, एनए, लैनचौर क्षेत्रमा उक्त व्यवस्था लागू गरेको थियो । 
आगामी दिनमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन उपत्यकाका विभिन्न स्थानमा उक्त व्यवस्था लागू गर्ने महाशाखाले जनाएको छ ।  
Categorized in राष्ट्रिय