चलचित्र निर्माण र प्रदर्शनका चुनौती तथा समाधान' बारे अन्तरक्रिया
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ १०, आइतबार
नेपाल चलचित्र निर्माता संघको आयोजनामा शुक्रबार 'चलचित्र निर्माण र प्रदर्शनका चुनौती तथा समाधान' विषयक एक महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. को प्रमुख आतिथ्यता तथा चलचित्र निर्माता संघका पूर्व अध्यक्ष एवं विशिष्ट अतिथि युवराज लामाको विशेष उपस्थिति र ५० जना सक्रिय निर्माताहरूको प्रत्यक्ष सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष उदय सुब्बाले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी.ले चलचित्रकर्मीहरूले तयार पारेको नयाँ विधेयकको मस्यौदा उपर आफ्नो भनाइ राख्नुभयो। निर्माता संघका महासचिवको नेतृत्वमा पठाइएको उक्त मस्यौदामा चलचित्र क्षेत्रको हितका लागि समावेश गर्नुपर्ने अनिवार्य बुँदाहरू समेट्न जोड दिइएको र यसका लागि पहल भइरहेको जानकारी गराउनुभयो। साथै सिनेमामा प्रयोग हुने प्रहरी प्रशासनको उपकरण प्रयोगको झन्झटिलो प्रक्रिया र छिटो-छिटो हुने सचिव तथा मन्त्री परिवर्तनले नीतिगत काममा समस्या भइरहेको विषयमा पनि कार्यक्रममा छलफल भएको थियो भने यस्ताखाले कार्यक्रमबाट ठोस निश्कर्ष निक्लने र सुधार गर्न सहज हुने भन्दै आफ्नो धारणा राख्नु भयो ।
त्यस्तै, विशिष्ठ अतिथि युवराज लामाले चलचित्र क्षेत्रमा आएका ट्रेन्ड परिवर्तनहरू (जस्तै 'नुमा फुङ्ग' र 'लूट' प्रदर्शन ताका र त्यसपछिका परिवर्तन) बारे चर्चा गर्दै निर्माताहरूको हितमा संघ लागिपर्नुपर्ने बताउनु भयो । प्रविधिमा आएको परिवर्तनसंगै नेपाली सिनेमालाई प्राथमिकता दिदै संघले चलचित्र संघसॅग सहकार्य गरेर डबल क्यू सिष्टम लगाएर भएपनि प्रदर्शनमा सहजिकरण गर्नुपर्ने र राम्रा मेकरहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष उदय सुब्बाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै औपचारिक रूपमा उद्घाटन कार्यक्रम समापन गर्नुभयो र महासचिवलाई अन्तरक्रिया कार्यक्रमको सुरुवात गर्न आग्रह गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा उपस्थित ५० जना निर्माताहरूलाई ४ वटा समूह (Group) मा विभाजन गरिएको थियो (प्रत्येक समूहमा १० जना)। कार्यशालामा मुख्य गरी दुईवटा विषयमा छलफल भएको थियो:
१. चलचित्र निर्माण गर्दाका समस्याहरू: ४ वटा समूहबाट १०/१० वटाका दरले ४० वटा समस्याहरू ल्याइएको थियो।
२. हलमा प्रदर्शन गर्दाका समस्याहरू: यसमा पनि ४ वटा समूहबाट १०/१० वटाका दरले ४० वटा समस्याहरू पहिचान गरिए।
यसरी कार्यक्रमबाट कुल ८० वटा साझा समस्याहरू लिखित रूपमा प्राप्त भएका छन्।
यसरी निर्माताबाट संकलित भएका यी ८० वटा समस्याहरूलाई चलचित्र निर्माता संघको कोर टिम (Core Team) ले सुक्ष्म अध्ययन गर्नेछ। ती समस्याहरूबाट चलचित्र निर्माणका १० वटा र प्रदर्शनका १० वटा गरी कुल २० वटा मुख्य बुँदाहरूमा केन्द्रित भई ठोस समाधानका उपायहरू सहितको प्रतिवेदन तयार पारिनेछ। उक्त रिपोर्टलाई नीति निर्माण तहमा पेश गरी चलचित्र क्षेत्रको दीर्घकालीन हित र समस्या समाधानका लागि संघले नीतिगत रूपमा कदम चाल्ने आजको अन्तरक्रिया कार्यक्रमबाट निर्णय गरेको छ। कार्यक्रमको संचालन र स्वागत मन्तव्य संघका महासचिव खगेन्द्र लामिछाने गर्नुभएको थियोभने अन्तिम समापन अध्यक्ष उदय सुब्बाले गर्नुु भएको थियोे ।
Categorized in सिनेमा

