STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भाषा जोगाउन सक्रिय बन्दै गुरुङ समुदाय

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १६, सोमबार

आफ्नो भाषा संरक्षण गर्न गुरुङ समुदाय सक्रिय बन्न थालेका छन् । पछिल्लो समय नयाँ पुस्ताले गुरुङ भाषा बिर्सिंदै जान थालेको भन्दै यसको संरक्षणमा आफूहरु सक्रिय बनेको गुरुङ राष्ट्रिय परिषद् प्रदेश नं–५ का अध्यक्ष खुमबहादुर गुरुङले बताउनुभयो । “पछिल्लो समय नयाँ पुस्ताले गुरुङ भाषा भुल्दै गएका छन्”, उहाँले भन्नुभयो, “त्यसैले यसलाई संरक्षण गर्न हामी सक्रिय बन्दै गएका छौँ ।” यसै क्रममा दाङको लमहीमा आइतबारदेखि प्रदेश नं– ५ स्तरीय तीन दिने तमु गुरुङ भाषा गोष्ठी एवं खेमालिपि प्रशिक्षण कार्यक्रम शुरु भएको छ । गुरुङहरुको पहिचान धेरै रहेकाले भाषा सिक्न जरुरी रहेको भन्दै यस्तो कार्यक्रमलाई जोड दिइएको गुरुङ राष्ट्रिय परिषद् संरक्षण समितिका केन्द्रीय अध्यक्ष माया गुरुङले बताउनुभयो । उहाँले लिपिको विकास नभएसम्म भाषाको विकास हुननसक्ने पनि प्रतिक्रिया दिनुभयो । “लिपिको विकास नभएससम्म भाषाको विकास हुन सक्दैन्, त्यसैले हामीले लिपिको विकासमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “गुरुङ भाषालाई संरक्षण गरे गुरुङको पहिचान जोगिन्छ ।” अहिले निजी विद्यालयले विदेशी भाषामा शिक्षण सिकाइ गर्दा बालबालिका मातृभाषासँगै नेपाली भाषा भुल्न थालेको भन्दै यसमा सरकारले पनि ध्यान दिनुपर्ने भाषा प्रशिक्षक बालनसिंह गरुङले बताउनुभयो । “अहिले विद्यालयमा विदेशी भाषामा पनि शिक्षण गर्न थाालिएको छ”, उहाँले भन्नुभयो, “यसले गर्दा मातृभाषा हराउँदै जान थालेको छ ।” उहाँले मातृभाषा सिक्नलाई कुनै पनि उमेर समूहले नछेक्ने बताउनुभयो । उहाँले सबै गुरुङ समुदायलाई आफ्नो मातृभाषा सिक्न आग्रहसमेत गर्नुभयो । आफूले सिकेका भाषा आफ्ना पुस्तालाई हस्तान्तरण नगर्नाले गुरुङ भाषा र गुरुङ संस्कृति हराउँदै गएको भन्दै गुरुङ भाषालाई जीवन्त राख्न सबैले आफ्नो भाषा र संस्कृति पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने समेत उहाँले बताउनुभयो । अर्का प्रशिक्षक भीमबहादुर गुरुङले सिकाउनुभन्दा पनि सिक्नु ठूलो कुरा भएकाले सबैले ध्यान दिएर भाषा सिक्नलाई आग्रह गर्नुभयो । गुरुङ भएर पनि गुरुङ भाषा बोल्न नजान्नु दुःखद पक्ष भएको समेत उहाँको भनाइ छ । अब आफ्नो संस्कृति र भाषा जोगाइराख्न युवा सक्रिय हुनुपर्ने बताउँदै गुरुङ भाषा संरक्षणका लागि सहयोग गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । गुरुङ राष्ट्रिय परिषद् प्रदेश नं– ५ को आयोजना एवं प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयको सहआयोजनामा आइतबारदेखि दाङको राप्ती गाउँपालिका– १ भालुवाङमा उक्त गोष्ठीको अयोजना गरिएको हो । गोष्ठीमा प्रदेश नं ५ को १२ वटा जिल्लाका ९० जनाको सहभागिता रहेको छ ।
Categorized in राष्ट्रिय