काठमाडौं हरर फिल्म फेस्टिभलमा ‘KNAR’ उत्कृष्ट छोटो र ‘इन दिस डार्कनेस आई सी यू’ उत्कृष्ट फिचर चलचित्र घाेषित
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ कार्तिक १७, सोमबार
काठमाडौं हरर फिल्म फेस्टिभलको दोस्रो संस्करण आइतबार सम्पन्न भएको छ । रसियन हाउस काठमाडौंमा समापन चलचित्रको प्रदर्शन र पुरस्कार वितरणसँगै महोत्सव सकिएको हो । मौसम प्रतिकूल भए पनि तीन दिनसम्म चलेको महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ ।
दर्शकको मतका आधारमा प्रतिस्पर्धामा रहेका १८ छोटा चलचित्रमध्ये आकाश धिमाल निर्देशित नेपाली चलचित्र ‘KNAR’ उत्कृष्ट छोटो चलचित्र घोषित भयो । त्यस्तै, प्रतिस्पर्धामा रहेका ६ फिचर चलचित्रमध्ये नादिम ताबेत निर्देशित ‘इन दिस डार्कनेस आई सी यू’ ले उत्कृष्ट फिचर चलचित्रको पुरस्कार जित्यो । यो चलचित्र फ्रान्स, लेबनान, कतार र साउदी अरबको संयुक्त निर्माण हो ।
महोत्सवको समापन मोराद मुस्तफा निर्देशित ‘आयशा कान्ट फ्लाई अवे’ बाट भएको थियो । इजिप्ट, फ्रान्स, जर्मनी, साउदी अरब र ट्युनिसियाको संयुक्त निर्माण रहेको यो चलचित्र काइरोको ऐन शम्स बस्तीमा बस्ने २६ वर्षीया अफ्रिकी आप्रवासी सेवाकर्मी आयशाको संघर्षमा आधारित छ ।
समापन समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल प्रमुख अतिथि थिए । समारोहमा नेपालस्थित रुसी दूतावासका मिनिस्टर काउन्सेलर तथा उपनियोग प्रमुख रिनचेन राक्शायेभ, पूर्वमन्त्री गणेश शाह, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभा तथा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकको पनि उपस्थिति थियो । प्रमुख अतिथि खनालले नेपालमा हरर चलचित्रको प्रवर्द्धन गर्ने पहलको प्रशंसा गरे । राक्शायेभ र खोख्लोभाले चलचित्रमार्फत नेपाल र रुसबीचको सांस्कृतिक आदानप्रदान सुदृढ बनाउनेमा जोड दिए । समारोहमा महोत्सवका स्वयंसेवक तथा सहयोगीलाई कदरपत्र प्रदान गरिएको थियो ।
महोत्सव निर्देशक रशिक पाठकले दोस्रो संस्करणले नेपाली दर्शकमा विधागत चलचित्रप्रति ठूलो रुचि रहेको देखाएको बताए । उनका अनुसार हरर चलचित्रले फिल्मकर्मीलाई लोककथा, समाज र पहिचानजस्ता विषय खोतल्ने सशक्त माध्यम दिन्छ । हरर तथा विधागत चलचित्रमा काम गर्ने नेपाली फिल्मकर्मीका लागि महोत्सवले निरन्तर अवसर सिर्जना गर्ने उनले बताए ।
Categorized in सिनेमा

