प्रविधि र पूर्वाधारको प्रयोगले फेरियो गाउँको मुहार
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १९, बिहिबार
करीब एक दशकअघि म्याग्दीका पहाडी तथा ग्रामीण क्षेत्रका गाउँमा खरले छाएका घर गुजुमुज्ज देखिन्थे । सदरमुकाम बेनी बजार आउन दुई–तीन दिन लगाएर पैदलयात्रा गर्नुपर्दथ्यो । सञ्चार र स्वास्थ्य त परको कुरा एक गाग्री पानी लिनका लागि पनि एकाबिहानै उठेर एक–डेढ घण्टाको दूरीमा गएर घण्टौँ लाइनमा बस्नु पर्दथ्यो । अहिले भने अब ती सबै कुरा विगतको तीतो स्मृतिमा परिणत भएका छन् । म्याग्दीको ग्रामीण भेगको कायापलट भएको छ ।
अब गाउँमा खरले छाएका घर देख्नै मुस्किल छ । गाउँगाउँमा पनि आरसिसी ढलान गरेर पक्की घर निर्माण गर्ने होडबाजी चलेको छ । पाइला अड्याउनै मुस्किल हुने अक्करे भिरलाई फोरेर सररर मोटर गुडेको छ । घरघरमा खानेपानीका धारा बनेका छन् भने विद्यालय र स्वास्थ्यचौकी समेत पायक पर्ने ठाउँमा नै बनेका छन् । “एक दशकको अवधिमा यति धेरै परिवर्तन होला भनेर कल्पना नै गरेका थिएनौँ”, मालिका गाउँपालिका– बिमका ७४ वर्षीय पलविर जुग्जालीले भन्नुभयो, “हाम्रो पालामा विकास भनेको कस्तो हुन्छ होला भनेर सोच्ने गर्दथ्यौँ, अहिले पो थाहा भयो विकास भनेको त सुविधा पो रहेछ त ।”
गाउँगाउँमा विकासका पूर्वाधार निर्माण भएपछि ग्रामीण जनताको जीवनशैली र चेतनामा समेत परिवर्तन आएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । अध्यक्ष रोकाले भन्नुभयो, “सुविधाका हिसाबले अब गाउँ र शहरमा खासै फरक रहेन, एक दशकअघिका गाउँ र अहिलेका गाउँमा धेरै कुरामा परिवर्तन आएको छ, सबैभन्दा ठूलो परिवर्तन जनताले सुविधाको उपभोग गर्ने कुरामा पाएका छन् ।”
एक लाख १४ हजार ४४७ जनसङ्ख्या र दुई हजार २९७ वर्गमिटरमा फैलिएको म्याग्दी जिल्लाका साविकका ४१ गाउँविकास समितिमध्ये गुर्जा र मुनाबाहेक अन्य सबै ठाउँमा मोटर बाटोले छोएको छ । स्थानीय तहलाई अधिकार प्रत्याभूति गरिएपछि जिल्लाभित्र विकासका लागि पालिका–पालिका बीचमा नै प्रतिस्पर्धा चलेकाले पनि ग्रामीण जनतालाई सुविधा प्राप्त गर्न सहज भएको जनताको बुझाइ छ ।
एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा विकासका न्यूनतम पूर्वाधार पुगेका छन् । विकासका पूर्वाधारसँगै जनताको आयआर्जनमा समेत वृद्धि भएपछि यहाँको ग्रामीण भेगको जीवनशैलीमा पनि उल्लेख्य परिवर्तन देखिन थालेको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
‘लाहुरेको जिल्ला’ भनेर चिनिने गरेका म्याग्दीले अब भने आफ्नो परिचय फेरेको छ । यो जिल्ला उद्यमी, कृषक, पर्यटन र जलविद्युत्को अपार सम्भावना भएको जिल्ला भनेर चिनिन थालेको छ । लाहुर गएका पनि धमाधम फर्केर आफ्नै गाउँमा कृषि, पशुपालन वा अन्य इलम गरेर बस्न थालेका स्थानीय जनप्रतिनिधिले बताएका छन् । बेनी नगरपालिका–३ भकिम्लीका अध्यक्ष पदम पुन भन्नुहुन्छ “विकासका पूर्वाधार पुगेपछि गाउँमा नै सम्भावना खोज्ने युवा बढेका छन् । कतिपय युवा त वैदेशिक रोजगारीलाई छोडेर गाउँमा नै फर्केर व्यावसायिकरुपमा कृषि र पशुपालनतर्फ लागेका छन् ।”
Categorized in राष्ट्रिय


