STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महिला वडाध्यक्षहरु सुशासनमा अब्बल

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २२, आइतबार

झापाका महिला वडाध्यक्षहरुले सुशासन र विकास निर्माणका प्रशंसनीय कार्य गरेका छन् । कार्यसम्पादनको क्रममा महिला भएकै कारण पुरुषबाट विभेद व्यहोर्नुपरेको उहाँहरुको गुनासो पनि छ । पन्ध्र स्थानीय तह भएको झापामा १३१ वडा एकाइमध्ये वडाध्यक्ष पदमा तीन मात्र महिला छन् । भद्रपुरको वडा नं ३ मा कमला थुलुङ, विर्तामोडको वडा नं ९ मा पवित्रा पाठक र हल्दिबारीको वडा नं ३ मा रोशनी शिवाकोटी वडाध्यक्ष हुनुहुन्छ । “आर्थिक अनियमितता गर्दैनौँ र खानपानमा हामी लोभिदैनौँ”, तीन पुरुष प्रतिस्पर्धीलाई चुनावमा जितेर आउनुभएकी विर्तामोड–९ की वडाध्यक्ष पाठक भन्नुहुन्छ, “महिलालाई वडाध्यक्ष बनाउनु हुँदैन, यिनीहरुले काम गर्न सक्दैनन्, जान्दैनन् भनेर हिजो हेप्नेहरु आज हाम्रो कामको प्रगति देखेर चुपचाप छन् ।” महिला अध्यक्ष भएको वडा तहमा सुशासन र विकास निर्माणले गति लिएको उहाँहरुको दाबी छ । वडाध्यक्ष पाठकले आफ्नो वडामा कुनै पनि उपभोक्ता समिति गठन गर्नुपर्दा महिलालाई अनिवार्य कोषाध्यक्ष पद दिनुपर्ने र बैंकिङ कारोवारमा कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनुपर्ने नियम लागू गरेको बताउनुभयो । ३३ प्रतिशत महिला नभएको उपभोक्ता समिति मान्य नहुने समेत उहाँको वडामा नियम छ । हल्दिवारी–३ की अध्यक्ष रोशनी शिवाकोटी जनताको काममा व्यस्त हुनुहुन्छ । उहाँ वडाध्यक्ष पदमा निर्वाचित हुनुअगावै गाउँमा जुवातास निषेध गराउन महिलाको जुलुस निकालेर तासका अखडामा हमला गर्ने साहसी महिलाको रुपमा चिनिनुभएको थियो । सो वडामा ७० वर्ष माथिका ज्येष्ठ नागरिकले भने मनोरञ्जनको रुपमा तास खेल्न पाउँछन् । उहाँको वडा कार्यालयमा आउने सेवाग्राहीप्रति कर्मचारीले रुखो व्यवहार कहिल्यै गर्दैनन् । वडामा सडक, शिक्षा, महिला सशक्तीकरणमा बजेटको ठूलो अंश छुट्याएर जनताको सेवक भएर कार्य गरिरहेको बताउनु हुने उहाँलाई प्रक्रिया नपु¥याई नागरिकताको सिफारिश लिन आउने पुरुषले हालै भौतिक आक्रमणको प्रयाससमेत गरेका थिए । “म बिराउँदिन, कसैसँग डराउँदिन”, वडाध्यक्ष शिवाकोटी भन्नुहुन्छ, “गाउँमा आएको बजेट एक पैसा यताउता नगरी विकास निर्माणमा खर्च गरिनुपर्छ भनेर लागिपर्दा मविरुद्ध अख्तियारमा दुईपटक मुद्दा दर्ता गरिएपनि म जनताको निस्वार्थ सेवाबाट विचलित भएकी छैन ।” उहाँले ‘हल्दिबारीका महिला, विकासमा पहिला’ भन्ने नाराका साथ जनप्रतिनिधिको भूमिका निर्वाह गरिरहेको बताउनुभयो । गाउँमा हिंसापीडित महिलाको सङ्ख्या धेरै रहेको र पीडितलाई न्याय दिलाउनका निम्ति आफू घरघरै पुग्ने गरेको शिवाकोटी बताउनुहुन्छ । झापाका अधिकांश गाउँपालिका र नगरपालिकाले वडा तहका लागि सरदर रु एक करोड बजेट विनियोजन गरेका छन् । वडामा आएको बजेटको सही सदुपयोग गर्ने लक्ष्यमा अघि बढिरहनुभएको महिला वडाध्यक्ष घुस, कमिसन र मदिरा राखिएका भोजभतेरमा संलग्न नहुने र हुन नदिने बताउनुहुन्छ । भद्रपुर–३ की वडाध्यक्ष कमला थुलुङ कार्यपालिकाको बैठकमा आफ्ना कुरा राख्दा पुरुष जनप्रतिनिधिले ‘कति गनगनाएको’ भनेर हेप्ने प्रयास गरेको गुनासो सुनाउनुहुन्छ । पुरुष वडाध्यक्ष भएको वडामा भन्दा आफ्नो वडामा विकास निर्माणको लहर सिर्जना भएको उहाँ दाबी गर्नुहुन्छ ।
Categorized in राष्ट्रिय