STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संस्कृत भाषा संरक्षणका लागि कालीगण्डकी गुरुकुलम

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २४, मंगलबार

स्याङ्जाको गल्याङ नगरपालिका र पाल्पाको रम्भा गाउँपालिकाको सङ्गमस्थल खाडाघाट उत्तर बाहिनीमा कालीगण्डकी गुरुकुलम स्थापना गरिएको छ  । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले पाल्पाको रम्भादेवी गाउँपालिकामा दर्ता गरेकोे सो  गुरुकुलममा चालू शैक्षिक सत्रबाट कक्षा ६ को अध्यापन गराइने भएको छ  ।
 
गुरुकुलममा स्याङ्जा र पाल्पाका विभिन्न भेगका १० विद्यार्थीलाई निःशुल्क खान, बस्न तथा पोशाकसहितको सुविधा दिइएको गुरुकुलमका संस्थापक चैतन्य कृष्णले बताउनुभयो । “गुरुकुलम थालनीका क्रममा रहेको र बाहिरी जिल्लाबाट पनि विद्यार्थी भर्ना हुनाका लागि आउने जानकारीमा आएको छ”, उहाँले भन्नुभयो, “चालू शैक्षिक सत्रमा विद्यार्थी थपिँदै छन्, यो वर्ष १५ जनाको कोटा रहेकामा आगामी शैक्षिक सत्रबाट कोटा थप गर्दै जाने छौँ ।” गुरुकुलममा अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक विषयका  अनिवार्य र संस्कृत भाषा, संस्कृत व्याकरण, कर्मकाण्डसहित वेद, नीति शास्त्र, आयुर्वेद तथा भजन कृतन एवं सङ्गीतको पढाइ हुने र  नेपालकै पहिलो अङ्ग्रेजी माध्यमको गुरुकुलम रहेको जिकिर संस्थापक अध्यक्ष चैतन्य कृष्णको थियो । 
 
उत्तर बाहिनी कालीगण्डकीको तटमा रमणीय स्थानमा गुरुकुलम सञ्चालनमा आएसँगै आधुनिक शिक्षा र संस्कृत भाषा अध्ययन गर्न पाइने भएपछि स्थानीय अभिभावक हर्षित छन् । उक्त प्रतिष्ठानले महायज्ञ सञ्चालन गरी सङ्कलन भएको रकमबाट भौतिक पूर्वाधार निर्माण गरेर उत्तर बाहिनीलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै आइएको छ । 
Categorized in राष्ट्रिय