STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

धुलाम्य क्षेत्रपाटी–ढल्को सडक

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

काठमाडौँ महानगरपालिका–१७ स्थित क्षेत्रपाटी–ढल्कोको करीब एक किमी सडक कालोपत्र नहुँदा धुलोले घरमा बस्नै नसकिने अवस्था आएको स्थानीयवासीको गुनासो छ । मेलम्चीको पाइप बिछ्याउन यो सडक खनिएको थियो । सडक खनेर पाइप बिछ्याएको दुई वर्ष पूरा हुँदा पनि कालोपत्र नगरिँदा व्यवसाय गर्न नसकिएको क्षेत्रपाटी चोकमा पसल चलाएर बस्नुभएकी शोभा बज्राचार्यले बताउनुभयो । शैलुङ कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको यो सडकमा सूचना पार्टीसमेत नराखिँदा कहिले सम्झौता भएको, कहिले सक्नुपर्ने, लागत कति भन्ने विषयमा जानकारी पाउन नसकिएको स्थानीयवासीको गुनासो छ । काठमाडौँ महानगरपालिका–१७ का अध्यक्ष नवीन मानन्धर आयोजनाका बारेमा थाहा पाउनु त परैजाओस् निर्माण व्यवसायीको सम्पर्क नंसमेत पाउन नसकिएको बताउनुहुन्छ । सडक धुलाम्य भएर आँखा नै नदेखिने भएपछि वडा कार्यालयको नेतृत्वमा विरोध प्रदर्शन गरिएको उहाँले सुनाउनुभयो । निर्माण व्यवसायीका तर्फबाट सडक रेखदेखमा खटिनुभएका इञ्जिनीयर लक्ष्मण नकर्मी दुई वर्षअघि नै सम्झौता गरिए पनि सडक डिभिजन कार्यालय, काठमाडौँका दुईवटा कार्यालय समायोजन एवं कर्मचारी सरुवाका कारण काममा ढिलाइ भएको दाबी गर्नुहुन्छ । डिभिजन कार्यालय मीनभवनका प्रमुख इञ्जिनीयर अशोक शाक्य सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौँले मेलम्चीको पाइप बिछ्याउन खनिएका सडकको कालोपत्र गर्नुपर्ने सबै सडकको ठेक्का गरेकाले लागत निश्चित कुनै खण्ड विशेषमा सूचना पाटी नराखिएको हुनसक्ने बताउनुहुन्छ । लागतसमेत धेरै सडकको जोडेर ठेक्का दिएको पनि उहाँले बताउनुभयो ।
Categorized in राष्ट्रिय