STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आलेख ः पहाडको टुप्पोमा बाजा बज्ने ढुङ्गा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १०, शुक्रबार

ढुङ्गाका चुचुराहरु हेर्दा पञ्चेबाजाका आकृतिहरु छन् । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यी आकृतिहरुको आवाज पनि बाजाको जस्तै सुनिन्छ । अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाले त्यहाँ पुग्ने जो कसैलाई ढुङ्गाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्ने गरेको छ । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको अन्तिम बस्तीको रुपमा रहेको काभ्रे गाउँ हुँदै अहिले बाजा ढुङ्गामा पुग्नेहरु आश्चर्यमा पर्ने गरेका छन् । पहाडको टुप्पोमा रहेको ढुङ्गामा स–साना ढुङ्गाका चुचुराहरु बजाउँदा दुरुस्तै नौमति बाजाको जस्तै आवाज निस्कने गर्छ । ढुङ्गामा दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने चुचुरोमा आकृति अनुसारकै आवाज निस्कँदा अचम्ममा परेको पहिलो पटक बाजा ढुङ्गाको अवलोकनमा पुग्नुभएका बेनीका गोरखनाथ सुवेदीले बताउनुभयो । “ढुङ्गाको बाजा बज्छ भन्ने सुन्दा कस्तो होला रु भन्ने लागेको थियो तर, साँच्चिकै दुरुस्तै सुनियो, यस क्षेत्रको प्रचारप्रसार गर्न सके यहाँ पर्यटकहरुको ओइरो लाग्ने सम्भावना छ” – सुवेदीले भन्नुभयो । यो ढुङ्गामा पुग्न बेनी–जोमसोम सडकखण्डले समेटिएको काभ्रे गाउँदेखि करीब पौने एक घण्टा पैदल यात्रा गर्नुपर्छ । छङछङ गर्दैै बग्ने रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाबाट चिटिक्क मिलेको काभ्रे गाउँ, अन्नपूर्ण हिमशृङ्खलाई समेत अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने स्थानीय रीता बरुवालले बताउनुभयो । “बाजा बज्ने ढुङ्गा खोज्दै कहिलेकाहीँ पर्यटकहरु आउने गर्छन्, थोरैैलाई यस ढुङ्गाकाको आश्चर्यबारे जानकारी छ, यहाँसम्म पुग्ने सहज पदमार्गको व्यवस्था र बाजा बज्ने ढुङ्गाको प्रचारप्रसार गर्न सके पर्यटक आगमन बढाउन सकिने हाम्रो विश्वास छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार, यस ढुङ्गामा खडेरी परेर पानी नपरेको समयमा स्थानीय बासिन्दाले पूजा गरी ढुङ्गा बजाएर पानी डाक्ने चलनसमेत रहेको छ । ढुङ्गाको बाजा बजाउँदा पानी पर्ने मान्यताले वर्षातको समयमा यस ढुङ्गामा स्थानीय बासिन्दाले बाजा बजाउँदैनन् । बाजा ढुङ्गामा जाने पर्यटकहरु यस ढुङ्गाको अलौकिक कला र सङ्गीतबाट अचम्भित हुने गरेका छन् । प्राकृतिक भ्युटावरको रुपमा रहेको यस ढुङ्गाको टुप्पोमा पुगेर प्राकृतिक भू–बनोटको अवलोकनमा समेत उनीहरु रमाउने गर्छन् । ढुङ्गाका बाजा बजाउन जानेहरुको लागि अहिले गाउँदेखि माथि जङ्गलसम्म सहज हिँड्डुल गर्ने बाटो भए पनि बाजा बज्ने भिरमा पुगेपछि भने साँघुरो डोरोमा हिँड्नुपर्ने बाध्यता रहेको छ । यस ढुङ्गाको नजीक भएर रुप्से झरना बग्ने र संसारको गहिरो अन्धगल्छीसमेत समीपमै रहेकाले यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको एकीकृत विकासमा जुटेको वडा सदस्य हस्तबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरु जोड्ने गरी पूर्वाधार निर्माण र प्रचारप्रसारमा वडा कार्यालयले जोड दिएको छ । नौमती बाजाको आकार रहेका चुचुरा बजाउँदा बाजाको आकार अनुसारकै आवाज निस्कने बाजा ढुङ्गा सङ्कटमा परेको छ । ढुङ्गाको अवलोकनमा जाने स्थानीय बासिन्दा र पर्यटकहरुले समेत ढुङ्गाले जोडले आवाज निस्कने ठाउँमा प्रहार गर्दा बाजाका आकृतिहरु मेटिँदै जान थालेको छ । पहिले सबै बाजाको वास्तविक आकार भए पनि अहिले बजाउँदै जाँदा सबै बाजाका आकृतिहरु भाँचिन थालेका हुन् । दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने भए पनि अन्य बाजाका आकृतिहरु भाँच्चिएको स्थानीय बासिन्दाको भनाइ छ । बाजाढुङ्गाको संरक्षण र पर्यटन पूर्वाधार निर्माणका लागि स्थानीय बासिन्दाले निरन्तर माग गरे पनि कुनै पनि निकायबाट सम्बोधन नभएको स्थानीय अगुवा सुनबहादुर विश्वकर्माले बताउनुभयो । समयमै नौमति बाजा ढुङ्गाको संरक्षण नगर्ने हो र जथाभावी बजाउन दिने हो भने कुनै समय यो ढुङ्गाको अवशेष समेत मेटिने खतरालाई स्थानीयवासी औँल्याउँछन् । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत काभ्रे गाउँ ‘लुकेको हीरा’ नामले चिनिन्छ । वर्षेनी गाउँ हुँदै हजाराँै पर्यटकहरु ओहोरदोहोर गर्ने भए पनि यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको एकीकृत विकास र प्रचारप्रसार नहुँदा यस गाउँले पर्यटनमार्फत लाभ लिन सकिरहेको छैन । धवलागिरि र अन्नपूर्ण हिमालको टुप्पोबाट नापिएको संसारकै गहिरो खोंच ‘अन्ध गल्छी’, मनमोहक रुप्से झरना र बाजा बज्ने ढुङ्गा नजीकको दूरीमा छन् । रुप्से झरना र अन्ध गल्छीमा सामान्य पर्यटन पूर्वाधार बने पनि बाजाढुङ्गा भने सरोकारवालाको नजरमा पर्न सकेको छैन् । तीन वटै पर्यटकीय स्थललाई जोडेर काभ्रेमा होमस्टे सञ्चालन गर्न सके यस क्षेत्रले पर्यटन विकासमार्फत मुहार फेर्न सक्ने सम्भावना रहेको स्थानीय अगुवा विश्वकर्माले बताउनुभयो । प्रकृतिको बरदानको रुपमा रहेको बाजा ढुङ्गाको किंवदन्ति निकै रोचक छ । परापूर्व कालमा यहाँ पूजा गर्ने बेलामा नौमति बाजा बजाउनेहरुले धेरै लामो समयसम्म बाजा बजाएपछि भगवान् प्रशन्न भएर उनीहरलाई वर माग्न लगाएका रहेछन् । बाजा बजाउनेहरुले सुनको बर मागे बमोजिम भगवान्ले पनि त्यही ठाउँ भएर बग्ने रुप्से खोला एकैछिन सुकाइदिएछन् । खोला सुकाएर सुनैसुनको खोला बनाएपछि उनीहरुलाई बञ्चरोले सुुनको ढिकमा एक पटक हान्नू र जति आउँछ त्यति लगेर जानू भन्ने आदेश दिएछन् । खोला सुकेपछि बाजा बजाउनेहरुले एकपटक बञ्चरोले हानेछन् । त्यसो गर्दा सुनको सानो चोइटा आएछ । सुनको चोइटा सानो भएपछि उनीहरुले खोला सुकेको मौकामा पुनः अर्को पटक पनि बञ्चरोले हाने । यस पटक भगवान् क्रोधित भए र रुप्से खोलामा भीषण बाढी आयो । बाढीले त्यहाँ भएका सबै बाजा बजाउनेहरुलाई बगाएको र त्यहाँ रहेका नौमति बाजा भने यसै ढुङ्गामा बाजाको आकृतिमा बदलिएको मान्यता रहेको छ ।
Categorized in राष्ट्रिय