STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शालग्राम सङ्ग्रहालय निर्माणमा ८० लाख बजेट

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार

शालग्राम संरक्षणका बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन भूमिगत शालग्राम सङ्ग्रहालयका लागि गण्डकी प्रदेश सरकारले रु ८० लाख बजेट विनियोजन गरेको छ । 
शालिग्राम सङ्ग्रहालयको विस्तृत योजना प्रतिवेदन डिपिआर कार्यान्वयनका लागि बागलुङ नगरपालिकाको पहलमा प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले हालै उक्त रकम विनियोजन गरेको हो । विश्वमै दुर्लभ मानिने शालग्राम शिलाको संरक्षणका लागि निर्माण भइरहेको भूमिगत सङ्ग्रहालय निर्माणमा सहयोग पुगोस् भन्दै बजेट विनियोजन गरेको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले बताउनुभयो । 
मुस्ताङको मुक्तिनाथदेखि म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालीगण्डकी कृष्णगण्डकी नदीमा मात्र पाइने शालग्राम शिलाको संरक्षणका लागि बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको तिरुपती बालाजी धाम मन्दिर परिसरमा भूमिगत शालग्राम सङ्ग्रहालय निर्माणको काम अन्तिम चरणमा रहेको छ । 
धार्मिक दृष्टिले अति नै महत्वपूर्ण मानिने शालग्राम शिलालाई सङ्ग्रहालयमा व्यवस्थित रूपमा राख्नका लागि भगवान् शिवको प्रिय अस्त्रका रूपमा मानिने त्रिशूल आकारमा भू–गर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको तिरुपति बालाजीधाम मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताउनुभयो । कुँुडुले फेदीस्थित श्री रङ्गवेकटेश मुक्तिनारायण मन्दिर, मुक्तिनाथ वेदविद्याश्रम तिरुपति बालाजीधाममा स्वामी श्रीधरचार्यको नामबाट २०७५ भदौ १ गते शालग्राम सङ्ग्रहालयको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गर्नुभएको थियो । शालग्राम सङ्ग्रहालयको डिपिआर कार्यान्वयनका लागि जेठ ८ गते बजेटको अख्तियारी आएको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले जनाएको छ । 
अख्तियारी प्राप्त भइसकेपछि निर्माणधीन शालग्राम सङ्ग्रहालयको अध्ययनपश्चात योजना सम्झौता गरी भुक्तानी प्रदान गरिने भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका कार्यालय प्रमुख कृष्ण घिमिरेले बताउनुभयो । रु चार करोड लागतमा निर्माण हुन लागेको सङ्ग्रहालयमा रु दुई करोड बढी रकम खर्च भइसकेको प्रपन्नाचार्यले बताउनुभयो । “कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम चोरी पैठारी हँुदा भविष्यमा शालग्राम हराउँदै जाने भन्दै शालग्राम संरक्षणमा जुटेका छौँ”, प्रपन्नाचार्यले भन्नुभयो, “यस कार्यलाई पूर्णता दिन गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।” हाल तिरुपती बालाजीधाममा रहेका २४ हजार शालग्रामलाई पहिलो चरणमा सङ्ग्रहालयमा राखिने छ । 
सुरुङ निर्माण साउथ एशियन एन्फ्रास्टक्चर निर्माण कम्पनीले ठेक्कामार्फत काम गरेको थियो । अहिले सुरुङ निर्माण सम्पन्न गरी भित्री संरचनाको काम भइरहेको छ । हिन्दू धर्मावलम्बीका लागि कालो रङको बाटुलो शिला ढुङ्गा शालग्राम अति पूजनीय मानिन्छ । यसका लागि नेपालको पश्चिम कालीगण्डकी नदी प्रख्यात छ । बैष्णव र सनातनीहरुले शालिग्रामलाई साक्षात् विष्णुको अवतारका रुपमा लिन्छन् । सङ्ग्रहालय नामकरण गरिएका स्वामी श्रीधरचार्य शालग्रामको महत्वबारे ग्रन्थ प्रकाशन गर्ने र संरक्षणका एक अभियन्ता मानिन्छन् । उनको विसं २०५६ मा ३९ वर्षको अल्पायुमै निधन भएको थियो । आचार्यका मुक्तिक्षेत्र महात्माय, शालग्राम महात्माय, गोदा सप्तसरीलगायत दुई दर्जन बढी कृति प्रकाशित छन् । 
Categorized in राष्ट्रिय