‘संस्कृतले शुद्धता र स्पष्टताको ज्ञान दिन्छ’
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १९, आइतबार
जयतु संस्कृतम्का अध्यक्ष डा बद्री पोखरेलले संस्कृतले मातृ देवो भवः, पितृ देवो भवः, आचार्य देवो भवःका साथै गुरु देवो भवःको शब्द उच्चारण गरी यसले हरेक मानिसमा शुद्धता र स्पष्टताको ज्ञान पैदा गराउने बताउनुभएको छ ।
शनिबार जीयर शैक्षिक संस्था नेपाल र नेपाल विकास तरङ्गिणीले संयुक्त रूपमा आयोजना गरेको ‘आधुनिक विषयका साथ संस्कृत शिक्षा अनिवार्य किन रु’ विषयक अन्तरक्रिया कार्यक्रममा डा पोखरेलले संस्कृतले विश्वका हरेक मानिसमा अथाह ज्ञान प्रदान गर्ने तर्क गर्नुभयो ।
पोखरेलले भन्नुभयो, “संस्कृत केवल कर्मकाण्डी गर्ने विषय मात्र होइन, यो तालु, नाक र घाँटीबाट उच्चारण हुने विज्ञानसँग उत्तिकै नजिक रहेको छ । संस्कृतले दर्शन÷चिन्तन, साहित्य, निर्देशन, ग्रन्थ, विज्ञानका साथै कर्मकाण्डजस्ता पाँच विषयमा उत्तिकै महत्व दिने गरेको छ ।”
पाठ्यक्रम विकास केन्द्रका निर्देशक टुकराज अधिकारीले विश्वको सबै भन्दा ठूलो पुस्तकालय भएको देश अमेरिकामा भागवत गीताको संरक्षण गरी यसको महत्व झल्काइँदै आएको बताउनुभयो ।
पाठ्यक्रम विकास केन्द्रले हप्तामा हरेक विद्यालयलाई पाँच घण्टा संस्कृत पढाउने अनुमति दिएको कार्यक्रममा बताइएको छ ।
जीयर शैक्षिक संस्था नेपालका अध्यक्ष कुमार अधिकारीले संस्कृतले समाजमा ज्ञान, विज्ञान, नैतिकता, ग्रन्थ, आत्मा र परमात्मको सम्बन्ध स्थापना गर्न सहयोग गर्ने जानकारी दिनुभयो । “संस्कृत लोप हुने अवस्थामा पुगेको छ । यसलाई कुनै पनि हालतमा लोप हुन दिनु हँुदैन”, अधिकारीले भन्नुभयो, “यसले मानवीय जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ऊर्जा भर्ने काम गरिरहेको छ ।”
नेपाल–भारत पुस्तकालयका प्रमुख महेश शर्माले पुस्तकालयमा १०१ विद्धान दैनिक आएर संस्कृत श्लोक अध्ययन र वाचन गर्ने बताउनुभयो । “संस्कृतका करीब तीन हजार शब्द रसियन भाषासँग मिल्छ”, शर्माले भन्नुभयो, “एटम आफैँ आत्मासँग जोडिएको शब्द हो । जुन बाह्य मुलुकले सदीयौँदेखि बमको नाममा प्रयोग गर्दै आएका छन् ।
जीयर नेपाल एक सामाजिक र आध्यात्मिक संस्था हो । यसले विद्यालयस्तरीय पाठ्यक्रम प्रकाशन गरी उपत्यकाभित्रका केही विद्यालयमा अध्यापन गराउन थालेको छ । यस संस्थाले प्रकाशन गरेको संस्कृत विषयको पुस्तक हाल नेपालको २५ विद्यालयमा अध्ययन र अध्यापन हुन थालेको बताइएको छ ।
Categorized in राष्ट्रिय