STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चीनको सहयोगमा विद्यालय निर्माण सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २३, बिहिबार

चीन सरकारले रु ८३ करोड लागतमा निर्माण गरेको सुविधासम्पन्न एक विद्यालयको निर्माणकार्य सम्पन्न भएको छ । लमजुङको राइनास नगरपालिका–९ महोरियाकोटस्थित भैरव माध्यमिक विद्यालय भवनको निर्माणकार्य सम्पन्न भएको हो ।
 
आठ रोपनी क्षेत्रफलमा चारतले विद्यालय भवनको निर्माणकार्य सम्पन्न भएको राइनास नगरपालिकाका प्रमुखसमेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार निर्माण सम्पन्न भएको उक्त विद्यालयमा ३० कक्षाकोठा, २० छात्रावास कोठा, १० शिक्षक कर्मचारी कोठा, एउटा सेमिनार हल, तीन पुस्तकालय कोठा, एउटा बैठक कोठा, खाजा कोठा, शौचायलयलगायत गरी ६८ कोठा रहेको छ ।
त्यस्तै, एउटा बास्केटबलको खेलमैदान, सवारीसाधन पार्किङस्थल विद्यालयमा निर्माण गरिएको छ । विद्यालयको विभिन्न ठाउँमा १० सौर्यबत्ती जडान गरिएको छ । कामदारदेखि सबै आवश्यक सामग्री चीनबाटै ल्याई निर्माण भएको विद्यालयले जनाएको छ । तीन वर्षभित्र सक्ने लक्ष्यका साथ उक्त विद्यालय विसं २०७४ बाट निर्माणकार्य शुरु गरी २०७६ जेठ २१ गते सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । २०१४ सालमा स्थापना भएको सो विद्यालय विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि टहरामा पढ्न बाध्य हुँदै आएका विद्यार्थीले सुविधायुक्त नयाँ भवनमा पढ्न पाउने भएका छन् । 
टहरामै हाल करीब ३०० विद्यार्थी अध्ययनरत छन् । देशकै नमूना भवनमा पढ्न पाउने भएपछि त्यहाँका विद्यार्थी खुशी भएका छन् । सो माविमा प्राविधिक तथा व्यावसायिक शिक्षा आगामी साउनबाटै कक्षा १२ सम्म सञ्चालन गर्ने समितिका अध्यक्ष थापाले बताउनुभयो ।
 छिमेकी राष्ट्र चीनले नेपालमा उत्कृष्ट १० नमूना विद्यालय बनाउने घोषणाको कार्यान्वयन गर्दै हिमाली भेगमा दुई विद्यालय निर्माण गर्ने क्रममा लमजुङको उक्त विद्यालय निर्माण गरेको समितिले जनाएको छ ।
 
Categorized in राष्ट्रिय