STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खानेपानी योजनाबाट याम्खाका ८४ घर लाभान्वित

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३, मंगलबार

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित रातमाटामा सञ्चालन गरिएको खानेपानी योजनाबाट ८४ घर उपभोक्ता लाभान्वित भएका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७५र७६ मा विनियोजन गरिएको रु ३२ लाख ५० हजार र उपभोक्ताको रु सात लाख ७८ हजार ४८६ को जनश्रमदान गरी जम्मा रु ४० लाख २८ हजार ४८६ मा खानेपानी योजना सञ्चालन गरिएको हो । उपभोक्ताको घरमा निर्माण गरिएको धारामा मिटर जडान गरेर खानेपानी वितरण गरिएको छ । गाउँपालिका प्रमुख भूपेन्द्र राईले गाउँमा सञ्चालित खानेपानी योजनालाई प्रभावकारी बनाउँदै खेर जाने पानीलाई सदुपयोग गर्न उपभोक्ताको धारामा मिटर जडान गरिएको बताउनुभयो । जिल्लाका १० स्थानीय तहमध्ये खानेपानीलाई व्यवस्थित गर्न मिटर जडान गर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका पहिलो भएको छ । “गाउँपालिकामा खानेपानीका मुहान सुक्दै गएका छन्”, उहाँले भन्नुभयो, “भएका मुहानलाई संरक्षण गर्दै वितरीत खानेपानीलाई सञ्चित गर्न उपभोक्ताको धारामा मिटर जडान गरिएको हो ।” लामो समयदेखि खानेपानीको समस्या रहेको याम्खामा सञ्चालित खानेपानी योजनाको ८४ घर उपभोक्तामध्ये पहिलो चरणमा ४२ घरको धारामा मिटर जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष बलजीत राईले बताउनुभयो । बाँकी ४२ घरमा निर्माण गरिएको धारामा असार मसान्तभित्र मिटर जडान गरिने जनाइएको छ । याम्खामा सञ्चालित खानेपानी योजनालाई व्यवस्थित गर्ने तयारीका साथ केही दिनभित्र मिटर रिडर र हेरालु राखिने जनाइएको छ । “उपभोक्ताको धारामा जडान गरिएको मिटरमा उठेको बिलको आधारमा न्यूनतम शुल्क लिने योजना बनाएका छौँ”, निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले भन्नुभयो, “यस विषयमा गाउँपालिकासँग समन्वय गरेर निर्माण उपभोक्ता समितिले शुल्क निर्धारण गर्नेछ ।” उपभोक्ताको घरमा निर्माण गरिएको धारामा जडान गरिएको मिटर उपभोक्ता आफँैले खरीद गरेको जनाइएको छ । गाउँदेखि चार किलोमिटर टाढा रहेको टुक्रेखोलाबाट ६३ मिलिलिटरको पाइपमा ल्याइएको पानी गाउँनजिकै निर्माण गरिएको ७० हजार लिटरको ट्याङ्कीमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ । याम्खाका स्थानीयवासी यसअघि खानेपानी अभावमा घण्टौँ टाढाबाट कुवा तथा खोलाबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका थिए । अहिले घर–घरमा निर्माण गरिएको व्यवस्थित धारामा आएको पानी उपभोग गर्न पाएपछि हर्षित भएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने याम्खामा यसअघि कादुरी र युनिसेफले खानेपानी योजना सञ्चालन गरेको थियो । उक्त संस्थाले सञ्चालन गरेको योजनाले काम नदिएपछि पुनः नयाँ योजना सञचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
Categorized in राष्ट्रिय