गृहमन्त्री रामबहादुर थापाले नेकपा ‘विप्लव’ समूहका गतिविधिलाई गम्भीर समस्याका रूपमा लिई राजनीतिक ढङ्गबाट समाधान खोज्न लामो समयदेखि प्रयत्न भइरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा यही असार ५ गते सर्लाही लखनदेहीमा कुमार पौडेल मारिएको घटनाबारे जानकारी दिँदै उहाँले विप्लव समूहबाट उठाइएका मुद्दालाई राजनीतिकरूपमै समस्या खोज्न वार्ता र संवादका लागि पहल भइरहेको जानकारी दिनुभयो ।
वार्ता र छलफलका माध्यमबाट राजनीतिकरूपबाटै समस्याको समाधान खेजिनुपर्छ भनेर विगतदेखि नै भइरहेको प्रयत्न जारी रहेको बताउँदै गृहमन्त्री थापाले पछिल्लो समय उक्त समूहबाट जुन किसिमको घटनाक्रम विकशित हुँदै गइरहेको छ, सरकारले त्यसलाई कानूनी र व्यावहारिक दृष्टिकोणबाट नियन्त्रण गर्ने नीति लिएको छ भन्नुभयो ।
उक्त समूहबाट हँुदै आएको सशस्त्र गतिविधिलाई नियन्त्रण गर्नुपर्छ भन्ने नीतिअनुसार देशव्यापीरूपमा सो समूहका कार्यकर्तालाई नियन्त्रण गर्ने प्रक्रिया अघि बढिरहेको सन्दर्भमा कुमार पौडेलको प्रहरीसँगको भिडन्तमा मृत्यु भएको गृहमन्त्री थापाले जानकारी दिनुभयो ।
“विप्लव समूह यो समस्यालाई राजनीतिकरूपमा समाधान गर्ने पक्षमा देखिएको छैन”, उहाँले भन्नुभयो । देशमा फेरि द्वन्द्व चर्र्काएर प्राप्त उपलब्धि उल्टाउने षड्यन्त्र कतै राज्य संयन्त्रबाटै त भइरहेको त छैन भन्ने सांसदको जिज्ञासामा गृहमन्त्री थापाले भन्नुभयो, “युद्धको नियमलाई सरकारले मान्छ, मुठभेडको नाममा अपराधी र विरोधीलाई सखाप गर्न हुँदैन भन्नेमा सरकार सचेत र सजग छ । कानूनी कठघरामा ल्याएर समाधान खोजिनुपर्छ भन्नेमा हामी स्पष्ट छौँ ।”
उक्त घटनाबारेमा आवश्यक छानबिन गर्ने वचन दिँदै गृहमन्त्री थापाले सुरक्षाकर्मीबाट आएको स्थलगत जानकारीअनुसार स्थानीय व्यापारी, जनप्रतिनिधि लगायतसँग चन्दा मागेर त्रसित बनाई समुदायमा सन्त्रास फैलाउँदै आएका पौडेलको प्रहरीसँगको दोहोरो भिडन्तमै मृत्यु भएको बताउनुभयो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निज पौडेलेको आपराधिक र ध्वङ्सात्मक गतिविधिमा संलग्न भएका घटनाको फेहरिस्त प्रस्तुत गर्दै उनका विरुद्धमा प्रहरी प्रशासनमा परेका उजुरी र मुद्दासम्बन्धी विवरण सुनाउनुभयो ।
Categorized in राष्ट्रिय