STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १०, मंगलबार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित बनेका छन् । लिची खेतीबाट राम्रो आम्दानी गर्न सफल बनेपछि पाल्पा रम्भा गाउँपालिका–१ हुँगीका किसान अहिले लिची खेतीप्रति थप आकर्षित बन्दै गएका हुन । स्थानीयस्तरबाट प्रतिकिलो लिचीलाई रु ६० मा खरीद बिक्री हुँदै आएको छ । रम्भा गाउँपालिका–१ हँुगीबाट मात्र यस आवमा रु २६ लाखको लिची गाउँबाट बाहिर निकासी भएको छ । गाउँमा उत्पादित लिची पाल्पाका स्थानीय बजारदेखि पोखरा, बुटवल क्षेत्रमा बढी खपत हुने व्यवसायी दिनेश अर्यालले बताउनुभयो । गाउँमा उत्पादित लिची रु ५० हजारदेखि चार लाखसम्म आम्दानी हुन्छ । स्थानीय बासिन्दा अर्जुनदेव पन्त, गङ्गा पछाईलगायतका युवाले गाउँमा लिची खेतीबाट यो वर्ष मात्र रु चार लाख आम्दानी हाता पार्न सफल हुनुभयो । उहाँहरु मात्र होइन, ४० देखि ५० घर परिवारले रु ५० हजारभन्दा बढी आम्दानी लिनुहुन्छ । पाल्पाको हुँगीको लिची नेपालकै सबैभन्दा स्वादिलो हुन्छ । लिचीभित्रका दाना साना, बोक्रा पातलो र लिचीको भाग बढी हुँदा पाल्पाको लिची राम्रो मानिएको स्थानीय बासिन्दा यमबहादुर नेपालीले बताउनुभयो । लिची रोपेको दुई वर्षमा उत्पादन दिने गर्छ । मल, पानी राम्रोसँग व्यवस्थापन हुन सकेको अवस्थामा पाँच वर्षको अवधिमा एउटा रुखबाट वार्षिक रु १० हजार आम्दानी दिने किसानको भनाइ छ । किसानले खेतबारीका कान्लामा उत्पादित लिची चिस्यान केन्द्रको अभावमा काँचो अवस्थामा बेच्न बाध्य हुनुपरेको गुनासा छन् । चिस्यान केन्द्र स्थापना गर्न सकेको अवस्था लिची टिपेर भण्डार गर्न सकिन्छ । भण्डार गरेका लिची आवश्यकअनुसार बजारमा पठाउन सकेको अवस्थामा किसानलाई राम्रो आम्दानी हुने देखिन्छ । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार लिची खेतीलाई थप प्रोत्साहन गर्न गाउँपालिकाले नीति नै बनाउन लागेको छ । भण्डारीले भन्नुभयो, “व्यावसायिक किसानलाई ८० प्रतिशत गाउँपालिनको अनुदान र २० प्रतिशत किसानको सहयोगमा २० हजार बिरुवा वितरण गर्ने तयारीमा रहेका छौँ ।” जसले फलफूल खेती नै गरेको छैन, तिनीहरुका लागि निःशुल्क लिची, कागती, सुन्तला वितरण गरी व्यावसायिक फलफूल खेती गरी आम्दानी लिन सक्ने छन् । गाउँपालिकाले आगामी आवमा लिची पकेट क्षेत्र घोषणा गर्ने तयारीमा रहेको छ । लिची पकेट क्षेत्रमा एक घर एक लिची कार्यक्रम, सुन्तला उत्पादन हुने क्षेत्रमा एक घर एक सुन्तलाका बिरुवा रोप्नुपर्ने नीति ल्याउने अध्यक्ष भण्डारीले बताउनुभयो । कालीगण्डकी नदीसँग जोडिएको हुँगी पाल्पाकै सबैभन्दा गर्मी क्षेत्र हो । यस क्षेत्रमा आप, कटरलाई व्यावसायिक खेती गरी राम्रो लाभ लिन सकिने देखिए पनि त्यस व्यवसायतर्फ युवाको आकर्षण बढेको छैन । आँप फलेर पाक्नभन्दा अघि नै झर्ने र कटरको ढुवानीमा समस्या हुँदा बजार पाउन सकेको छैन । कटर गाडीमा लैजान हुँदैन भन्ने परम्परागत मान्यताका कारण ढुवानी गर्न नमान्ने गर्छन् ।
Categorized in बिजनेस