STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उद्योगमा भारतीय कामदार, होटलमा स्थानीयलाई प्राथमिकता

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १३, शुक्रबार

बाँकेमा ठूला उद्योग खुल्नेक्रम बढे पनि स्थानीयवासीले रोजगारी भने पाउन सकेका छैनन् । अधिकांश उद्योगमा भारतीय कामदार कार्यरत छन् । उद्योग विभागको तथ्याङ्कअनुसार विसं २०४६ यता बाँकेमा ८८ ठूला उद्योग दर्ता भए । तर, ती उद्योगमा भारतीय कामदारकै बाहुल्य रह्यो । सञ्चालन भइरहेका अधिकांश उद्योग १० वर्षे सशस्त्र द्वन्द्वका कारण धरासायी बन्न पुगे । विसं २०६२÷६३ पछिको राजनीतिक परिवर्तनसँगै जिल्लामा पुनः एकपछि अर्को ठूला उद्योग सञ्चालन हुने क्रम बढेको छ । एकपछि अर्को ठूला उद्योग खुल्दासमेत यहाँका स्थानीयवासीमा उत्साह देखिएन । कारण, स्थानीयवासीले स्थापना भएका उद्योगमा रोजगार पाउन नसक्नु नै हो । बाँकेमा सबैभन्दा धेरै उद्योग सञ्चालनमा रहेको जानकी गाउँपालिका–५ का अध्यक्ष सुरेश यादवले भन्नुभयो, “हाम्रो वडामा दर्जनौँ उद्योग सञ्चालनमा छन् । तर पनि स्थानीयवासीले रोजगारी पाउन सकेका छैनन्, धुलो, धुवाँ र प्रदूषण मात्र पाएका छन् ।” बाँकेमा सिमेन्ट उद्योग, छड, प्लाष्टिक, फलामजस्ता सामग्री उत्पादन गर्ने ठूला उद्योग सञ्चालनमा छन् । ती उद्योगमा अधिकांश कामदार भारतीय छन् । बाँकेमा भारतीय कामदार कति छन् भन्ने यकिन तथ्याङ्क नै छैन । श्रम स्वीकृति लिन नपर्ने र श्रम अडिटको दायरामा आउन नसकेका कारण उनीहरूको तथ्याङ्क यकिन हुँदैन । सीमावर्ती भारतीय गाउँका मजदुर त बिहान साइकलमा आएर साँझ घर फर्किहाल्छन् । स्वदेशमा रोजगारी नपाएको भन्दै लाखौँ नेपाली विदेश गइरहेका बेला नेपालमा भने यसरी भारतीय कामदार भरिभराउ भएका छन् । मजदुर नेताले स्वदेशी कामदार राख्नुपर्ने आवाज उठाउँदै आए पनि उद्योगीले त्यसको बेवास्ता गर्ने गरेका छन् ।
Categorized in राष्ट्रिय