STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालगञ्जमा प्लाष्टिकका झोला उत्पादन बन्द

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २७, शुक्रबार

नेपालगञ्जलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान शुरु भएपछि प्लाष्टिक झोला उत्पादक उद्योगले विकल्प खोज्दै झोला उत्पादन बन्द गरेका छन् । प्लाष्टिक झोलाको विकल्पमा बिरुवा उत्पादन गर्न प्रयोग हुने ‘क्यारी ब्याग’ र ढलानमा प्रयोग हुने ‘ढलान सिटी’ उत्पादन शुरु गरिएको छ । नेपालगञ्ज औद्योगिक क्षेत्रभित्र रहेको होली प्लाष्टिक उद्योगका सञ्चालक निसार अहमद अन्सारीले भन्नुभयो, “क्यारी ब्याग’ र ‘ढलान सिटी’ जहाँ पायो त्यही फाल्न मिल्दैन । फेरि झोलाजस्तो कहिल्यै नसड्ने पनि होइन । प्लाष्टिकजस्तो नकारात्मक असर नपर्ने भएकाले नयाँ उत्पादन शुरु गरेका छौँ ।” क्यारी ब्याग र ढलान सिटीको बाँकेमै राम्रो बजार रहेको छ । स्थानीय बजारमै खपत हुने भएकाले होली प्लाष्टिकले उत्पादन शुरु गरिएको उद्योगले जनाएको छ । अन्सारीले हालकै मेशिनबाट सड्ने खालको झोला उत्पादन गर्ने तयारी गरेको जनाउँदै भन्नुभयो, “अहिलेको मेशिनलाई केही परिवर्तन गरेर नयाँ झोला उत्पादन गर्न सकिन्छ ।” बाँकेमा होली प्लाष्टिक उद्योगबाहेक कोहलपुरमा अर्को झोला उत्पादक उद्योग रहेको छ । चार वर्षदेखि सञ्चालित होली प्लाष्टिक उद्योगमा छ जना कर्मचारी कार्यरत छन् । यहाँ उत्पादन गरेका झोला स्थानीय बजारमा खपत हुन्छन् । नेपालगञ्ज उपमहानगरपालिका लगायतका स्थानीय तहले प्लाष्टिकमुक्त अभियान शुरु गरेपछि उद्योगी विकल्प खोज्न थालेका हुन् । उद्योगी अन्सारीले भन्नुभयो, “हामी पनि यही समाजको मान्छे हो । राम्रो काम हुन्छ भने त्यसका लागि बाधक बन्दैनौँ । नाफा, घाटा हेर्दैनौ ।” अन्सारीले प्लाष्टिकमुक्त अभियानकोे स्वागत गर्दै यसको पूर्ण कार्यान्वयनका लागि प्लाष्टिकको झोलामा प्रतिबन्ध लगाएर मात्रै नहुने बताउनुभयो । “यो शुरुआत हो तर सबै थोक होइन”, अन्सारीले भन्नुभयो, “हामीजस्ता उद्योगले त बुझेर उत्पादन गर्छौं तर बाहिरबाट आयो भने त्यसको के अर्थ भयो र रु” अन्सारीले विभिन्न ‘ड्राइफुड’ प्याक गरेर भित्रिने प्लाष्टिक नियन्त्रणमा समस्या हुने भन्दै त्यसप्रति गम्भीर बन्न सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “प्लाष्टिकमुक्त अभियान सफल बनाउन धेरै काम गर्न बाँकी छ । त्यसमा हाम्रो साथ रहन्छ ।” नेपालगञ्ज उपमहानगरपालिकाले चौथो नगरसभाबाट प्लास्टिकमुक्त शहर बनाउने निर्णय गरेसँगै प्लास्टिकमुक्त अभियानलाई तीव्र पारिएको छ । कागज तथा कपडाको झोला प्रयोगमा जोड दिँदै प्लाष्टिकको झोला प्रयोगमा अटेर गर्नेलाई कारवाहीको दायरामा ल्याइने उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हरि प्याकुरेलले बताउनुभयो । “शुरुमा व्यापक प्रचारप्रसार गरेका छौँ । अब अटेर गरे कारवाही हुन्छ”, उहाँले भन्नुभयो । जथाभावी प्लाष्टिकका झोला बिक्री वितरण गर्नेलाई रु ५० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।
Categorized in राष्ट्रिय