STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १२, आइतबार

जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा दिइने भएको छ । जुम्लामा गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ मा व्यवस्था भएअनुरूप जुम्लामा गत वर्षदेखि नै पूर्णरूपमा निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । तत्कालीन कर्णालीका पाँच जिल्लासहित ३४ जिल्लामा पूर्ण र आंशिकरूपमा निःशुल्क हवाई उद्धार सेवा सञ्चालनमा आएको हो । लगातार लामो प्रसव व्यथा लागी बच्चा जन्माउन कठिनाइ भएको, गर्भमै बच्चाको मृत्यु भएको, गर्भवती अवस्थामा अत्यधिक शरीर सुन्निएको, सुत्केरीपश्चात अत्यधिक रक्तश्राव भएको अवस्थामा पूर्णरूपमा निःशुल्क हवाईसेवामार्फत उद्धार गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले रक्तअल्पता भएका गर्भवती, स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलालाई अब सहजैरूपमा निःशुल्क हवाईसेवाबाटै उद्धार गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “अब ग्रामीण क्षेत्रमा सुत्केरी तथा गर्भवती महिलालाई ज्यानको जोखिम परेको खबर आउनेबित्तिकै उद्धार गर्न सकिने अवस्था छ । दुर्गमका कुनै पनि जोखिमखालका गर्भवती सुत्केरी स्वास्थ्य उपचार अभावमा मृत्युका मुखमा पर्नबाट बच्न सफल हुनेछन् ।” हवाई उद्धार गरिएकी महिलाको नागरिकताको प्रमाणपत्र, स्थानीय तहको हवाई उद्धार समन्वय समितिको बैठकको निर्णय र स्थानीय स्वास्थ्य संस्थाको प्रमुखसहित दुई स्वास्थ्यकर्मीको सिफारिसपत्र मन्त्रालयमा पेश गर्नुपर्ने प्रावधान छ । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएको पायक पर्ने अस्पतालमा पु¥याइने व्यवस्था मिलाइएको छ । “यो कार्यक्रमलाई लक्षित गर्दै प्रत्येक वडामा हेलिप्याड बनेका छन्”, प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भन्नुभयो, “अहिलेसम्म उद्धार गर्नुपर्ने अवस्था आएको छैन ।” सबै जिल्ला समन्वय समितिमार्फत तिला गाउँपालिकाको वडा नं ५ कनकासुन्दरी र पातारासी गाउँपालिकाको चुकेनीमा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा हेलिप्याड बनेका छन् । अन्य स्थानीय तहमा नजिकैको प्रहरी चौकीको सहायतामा प्रत्येक वडामा हेलिप्याड तयार भइसकेका छन् । गर्भवती र ठूलो विपद्को उद्धारका लागि ती हेलिप्याड निकै प्रभावकारी हुने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । नेपालका दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी, अछाम, जाजरकोट, दैलेख, मुगु, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, पूर्वीरुकुम, रुकुमपश्चिम, सल्यान र रसुवा जिल्लामा हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५ पूर्णरूपमा लागू भएको छ । यसैगरी सिन्धुपाल्चोक, धादिङ, गोरखा र बागलुङ जिल्लामा आंशिकरूपमा लागू भएको हो ।
Categorized in राष्ट्रिय