STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तीन हप्तादेखि अस्पतालका कर्मचारी आन्दोलित

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १०, मंगलबार

पाउँदै आएको सेवा–सुविधाबाट बञ्चित गराई श्रमशोषण गरेको जनाउँदै बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारी तीन हप्तादेखि आन्दोलित भएका छन् । आफ्ना मागसहित अस्पताल प्रशासन अगाडि गत साउन १६ गतेदेखि धर्नामा बसेका कर्मचारीले प्रशासन कार्यालयभित्र कसैलाई पनि आवतजावत गर्न दिएका छैनन् । आफ्ना मागबारे पटक–पटक अस्पताल प्रशासनसँग पहल गर्दा कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिएको नेपाल स्वास्थ्यकर्मी तथा अस्पताल कर्मचारी युनियनका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनको बीचमा भएको वार्तामा हाम्राबारे केही सुनुवाइ नभएकाले आजदेखि कडा आन्दोलनमा उत्रिएका छौँ ।” अस्पतालको आयव्यय सार्वजनिक गर्नुपर्ने, कर्मचारीलाई उचित पारिश्रमिक निर्धारण गर्नुपर्ने, प्रशासनिक एकाइमा कर्मचारी युनियनको सहभागिता गराउनुपर्ने, बिरामीको सेवासुविधा बढाउनुपर्नेलगायत माग राख्दै पहिलो चरणमा हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका थिए । “हाम्रो माग सम्बोधन नहुँदासम्म आन्दोलन गर्नेछौँ”, श्रेष्ठले भन्नुभयो । उहाँले श्रम अदालतबाट अनुमोदित कर्मचारी युनियनलाई अस्पताल प्रशासनले अवमूल्यन गरेको र प्रशासनमा धार्मिक ९क्रिश्चियानीटी० गुटबन्दी आरोप लगाउनुभयो । यसअघि अस्पतालका कर्मचारीमध्ये ५० प्रतिशतले आलोपालो आन्दोलनमा सहभागी हुँदै आएकामा आजदेखि सबै कर्मचारी आन्दोलनमा उत्रिएका श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “आजबाट सबै कर्मचारीको सहभागितामा प्रशासन घेराउ गरेका छौँ ।” अस्पतालस्थित युनियनमा २०० कर्मचारी आवद्ध छन् । अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सूर्यप्रभा शाक्यले आन्दोलनरत पक्षसँग थप छलफलमा जाने वातावरण तयार भइरहेको बताउनुभयो । अस्पताल प्रशासनले कर्मचारीले आन्दोलन थालेकै दिन अस्पताल हाताभित्र सूचना टाँस गर्दै युनियनले लगाएको आरोप झुठा भएकाले त्यसका पछि नलाग्न अन्य कर्मचारीसँग आग्रह गरेको थियो । गत वर्ष असोजमा पनि यस्तै माग राखेर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका थिए । त्यतिबेला अस्पताल प्रशासनबाट युनियनको माग सम्बोधन गर्दै जाने आश्वासनसहितको सहमतिपछि आन्दोलन स्थगित गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । विसं २०१८ देखि सञ्चालनमा आएको उक्त अस्पताल ‘सेभेन्थे–डे एडभेन्टिष्ट अस्पताल’को नामले समेत परिचित छ ।
Categorized in राष्ट्रिय