STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

पुनःनिर्माणमा राजधानी नै कमजोर

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १७, मंगलबार

देशको राजधानी भएको जिल्ला काठमाडौँ भूकम्पपछिको पुनःनिर्माणमा सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी शहर भएको जिल्ला सबैभन्दा पछि परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका अनुगमन तथा मूल्याङ्कनविज्ञ राजकुमार पौडेलले स्वीकार गर्नुभयो । काठमाडौँका ११ नगरपालिकामध्ये पनि सबैभन्दा बढी समस्या मुलुककै पहिलो महानगर काठमाडौँ महानगरपालिकामै रहेको एकाइले जनाएको छ । काठमाडौँमा शुरुमा गरिएको सर्वेक्षणमा ४२ हजार ४९९ भूकम्पपीडित लाभग्राही सूचीमा सूचीकृत भएका थिए । गुनासोबाट छ हजार ६९ पीडित थपिएपछि हाल ४८ हजार ५६८ लाभग्राही पुगेका पौडेलले जानकारी दिनुभयो । काठमाडौँमा हालसम्म कूल लाभग्राहीको ८६ प्रतिशत अर्थात् ४१ हजार ७६८ परिवारसँग अनुदान सम्झौता भएको छ । अनुदान सम्झौता गर्ने जति सबैले पहिलो किस्ताको रु ५० हजार बुझिसकेका छन् । पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता लिने लाभग्राही भने १७ हजार ९७० मात्र छन् । घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिने लाभग्राही भने १४ हजार ८४ छन् । यसैगरी प्रबलीकरण गर्नुपर्ने लाभग्राहीको सङ्ख्या ९०७ भए पनि दुई जनाले मात्र काम शुरु गरेको अभिलेख एकाइमा छ । जिल्लामा गोकर्णेश्वर नगरपालिकामा सबैभन्दा बढी घर पुनःनिर्माण भएका छन् । नगरपालिकामा दुई हजार ९३९ लाभग्राही छन् । त्यसमध्ये ४६ प्रतिशतले पुनःनिर्माण सम्पन्न गरी तीनै किस्ता लिइसकेका छन् । सबैभन्दा कम घर पुनःनिर्माण भएको महानगरपालिकामा सात हजार ५६१ छ । यसमध्ये १७ प्रतिशतले मात्र घर निर्माण सम्पन्न गरेका हुन् । पुर्जा नभएका जग्गा, मोही, स्ववासी, सुकुम्वासी, गुठी, सरकारी जग्गा, वन क्षेत्र, सार्वजनिक जग्गा, पर्ती जग्गामा घर बनाएर बसी क्षति भएकाका समस्याका कारण पनि पुनःनिर्माणमा ढिलाइ भएको हो । भूकम्प अति प्रभावित सिन्धुपाल्चोक पुनःनिर्माण सबैभन्दा अघि देखिएको छ । सिन्धुपाल्चोकमा ६७ हजार ६०४ घर पुनःनिर्माण सम्पन्न भएका प्राधिकरणले जनाएको छ । सो जिल्लामा ८८ हजार २७३ परिवार लाभग्राही सूचीमा परेका थिए । उपत्यकाका ललितपुर र भक्तपुर पनि अरु ११ जिल्लाको तुलनामा पुनःनिर्माणमा पछि छन् ।
Categorized in राष्ट्रिय