STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चाडपर्व लक्षित गरेर नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा गरिने

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ४, शनिबार

नजिकिँदै गरेको दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वका बेला भारतबाट रोजगारी गरेर फर्किने नेपालीको सीमा क्षेत्रमा सहज र सुरक्षित आवागमनका लागि भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । शनिबार भारतको गौरीफन्टामा भएको दुई देशबीचको सीमा सुरक्षा समन्वय बैठकमा भारतकातर्फबाट सहभागी सीमा सुरक्षा बल एसएसबी, भारतीय कष्टम तथा अन्य निकायले चाडपर्वका बेला घर फर्किने नेपालीको यात्रा सुरक्षित बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको सशस्त्र प्रहरी बल नेपाल नं। ३५ गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले जानकारी दिनुभयो । उहाँले चाडपर्व लक्षित नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा कार्यक्रम लागू गर्ने विषयमा पनि दुबै पक्षबीच छलफल र समन्वय भएको बताउनुभयो । “चाडपर्वका बेला सीमाक्षेत्रमा नेपालीहरु लुटिने र ठगिने क्रम भएका विगतका घटनालाई मध्यनजर गर्दै हामीले सीमावर्ती भारतीय सुरक्षा निकायसँग सुरक्षित आवागमनका लागि पहल शुरु गरेका छौँ ।” सशस्त्र प्रहरी उपरीक्षक साहुले भन्नुभयो, “सीमा क्षेत्रमा हुने लागुऔषध र मानव बेचविखन नियन्त्रणका लागि पनि दुवै देशका सुरक्षा निकायबीच गस्ती र सर्तकता बढाउने सहमति भएको छ ।” “ब्रह्मदेव, दोधारा चादँनी र गड्डा चौकीमा संयुक्त हेल्प डेस्कलाई थप प्रभावकारी बनाइने सहमति भएको छ”, उहाँले भन्नुभयो, “नागरिकको बढी आवातजावत हुने सिमानामा थप हेल्प डेस्क राख्ने तयारीमा छौँ ।” उहाँले सीमा क्षेत्रमा सशस्त्र प्रहरी र एसएसबीको संयुक्त गस्तीसमेत हुँदै आएको बताउँदै पर्वलाई लक्षित गरी सीमा क्षेत्रमा थप सर्तकता अपनाउनुका साथै नयाँ सुरक्षा योजना ल्याइने जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय