STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भूमिहीन १७ घरपरिवारलाई जग्गा खरीदका लागि रकम प्रदान

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ३०, बिहिबार

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण काभ्रेपलाञ्चोकले भूकम्प गएको करीब साढे चार वर्षपछि जिल्लाका भूमिहीन १७ घरपरिवारलाई जग्गा खरीदका लागि रु दुई लाख रकम प्रदान गरेको छ । भूमिहीन घरपरिवारका लागि साविक ठाउँमा घर नबनाई अन्य ठाउँमा जग्गा खरीद गर्न सरकारले उपलब्ध गराउने रकम रु दुई लाख पाउनेमा २२ घरधुरीमध्ये १७ घरपरिवारलाई सो रकम प्रदान गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार काभ्रेपलाञ्चोकको प्रमुख सागर आचार्यले बताउनुभयो । त्यसरी जग्गा खरीदका लागि रकम पाउनेमा चौरीदेउराली गाउँपालिकामा एक, मण्डनदेउपुर नगरपालिकामा दुई, धुलिखेल नगरपालिकामा पाँच, पाँचखाल नगरपालिकामा पाँच, रोशी गाउँपालिकामा एक, तेमाल गाउँपालिकामा दुई र भुम्लु गाउँपालिकामा एक घरपरिवार रहेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ । अन्य पाँच घरपरिवारले भने जग्गा खरीद गर्न ठाउँ नमिलेको भन्दै ढिला गरिरहेको जनाएको छ । उहाँहरुको पनि ठाउँ प्राप्त भएको भन्ने जानकारी प्राप्त हुनेबित्तिकै रकम वितरण गर्ने कार्यालयले जनाएको छ । त्यसैगरी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जिल्लाका अन्य भूमिहीन भूकम्प लाभग्राहीलाई घर निर्माणका लागि जग्गा प्रदान गरेको छ । प्रमुख आचार्यका अनुसार जिल्लाका भूमिहीन परिवारका लागि पहिलो र दोस्रो चरणमा गरी १०४ घरपरिवारलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्नका लागि जग्गा उपलब्ध गर्ने निर्णय भएको बताउनुभयो । “सङ्घीय सांसद गङ्गाबहादुर तामाङको संयोजकत्वमा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार १०४ जनालाई पहिलादेखि बस्दै आएको घर भएकै जग्गामा घर बनाई भोगचलन गर्न पाउने गरी निर्णय भएको छ”, आचार्यले भन्नुभयो, “भोगचलन भएको तर आफ्नो नाममा जग्गा नभएकाहरुका लागि अब उहाँहरुले त्यही ठाउँमा घर निर्माण गर्न पाउनेछन् ।” त्यसरी पहिलाकै ठाउँमा घर निर्माण गर्न पाउने घरपरिवारमा धुलिखेल नगरपालिका, भुम्लु गाउँपालिका, बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिका, तेमाल गाउँपालिका र पनौती नगरपालिकाका गरी १०४ घरपरिवार रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार काभ्रेपलाञ्चोकले जनाएको छ । त्यसैगरी भूमिहीन हुँ भनेर निवेदनसहितको विवरण पेश गर्न आउने अन्य ७० घरपरिवारको पनि विवरण केन्द्रमा पठाइसकेको र त्यहाँबाट निर्णय भएर आएपछि प्राप्त विवरणको आधारमा वितरण गर्ने प्रमुख आचार्यले बताउनुभयो ।
Categorized in राष्ट्रिय