STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सञ्चालन भयो ग्रामीण विकास प्रशिक्षण केन्द्र

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १८, बुधबार

नेपालगञ्ज उपमहानगरपालिका–१४ महेन्द्रनगरस्थित ग्रामीण विकास प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । सत्र वर्षदेखि बन्द रहेको प्रशिक्षण केन्द्र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रत्यक्ष चासो देखाएपछि सञ्चालनमा आएको केन्द्रका निमित्त निर्देशक चण्डीलाल चौधरीले बताउनुभयो । साविकको मध्य तथा सुदूरपश्चिममा कार्यरत सरकारी कर्मचारीलाई प्रशिक्षण दिन २०२३ सालमा स्थापना भएको उक्त प्रशिक्षण केन्द्र सशस्त्र द्वन्द्वका बखत असुरक्षाका कारण देखाउँदै २०५८ मा बन्द भएको थियो । “मुख्यमन्त्रीज्यूले चासो देखाएर बजेटको व्यवस्थापन गरेकै कारण प्रशिक्षण केन्द्र सञ्चालनमा आएर नयाँ जीवन पाएको छ”, निमित्त निर्देशक चौधरीले भन्नुभयो, “मुख्यमन्त्री कार्यालयका सचिवज्यूहरुले समेत अवलोकन गरी आवश्यक सल्लाह, सुझाव र निर्देशन दिनुभएको छ ।” चौधरीका अनुसार प्रदेश सरकारले बजेट व्यवस्थापन गरेपछि जीर्ण बनेका भौतिक संरचनालाई अहिले मर्मतसम्भार गरिएको छ । एसी जडित सभाहल तयार भएसँगै सरकारी कर्मचारीलाई तालीम दिन शुरु भएको छ । प्रदेश सरकारले प्रशिक्षण केन्द्रलाई प्रदेशको प्रमुख सरकारी कर्मचारी प्रशिक्षण केन्द्रका रूपमा विकास गर्नका लागि भवनहरु जीर्णोद्धार गर्न रु ५५ लाख उपलब्ध गराएको निमित्त निर्देशक चौधरीले बताउनुभयो । उक्त रकमले सभाहल, कक्षाकोठा, प्रशासनिक भवन, होस्टेल लगायतको जीर्णोद्धार गर्ने काम अन्तिम चरणमा पुगेको छ । प्रशिक्षण केन्द्रमा सुविधासम्पन्न ३५ वटा भवन छन् । तर लामो समयदेखि कोही नबसेपछि खण्डहर बनेका छन् । जीर्णोद्धार गर्न मिल्नेलाई जीर्णोद्धार गर्ने र नमिल्नेलाई भत्काएर नयाँ बनाउने योजना रहेको चौधरीले जानकारी दिनुभयो । ग्रामीण विकास प्रशिक्षण केन्द्र सञ्चालनमा आएसँगै नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा चहलपहल बढेको छ । वडा नं १४ का अध्यक्ष ओमकारनाथ मिश्राले आफू जननिर्वाचित भएलगत्तै प्रशिक्षण केन्द्र सञ्चालनका लागि पहल गरेको बताउँदै प्रदेश सरकारले सञ्चालन गरेकामा खुशी व्यक्त गर्नुभयो । “हाम्रो वडामा यति ठूलो सरकारी प्रशिक्षण केन्द्र सञ्चालमा आउनु खुशीको कुरा हो”, वडाध्यक्ष मिश्राले भन्नुभयो, “यसले हाम्रो वडालाई चिनाएको छ, वडास्तरबाट गर्नुपर्ने आवश्यक सहयोगका लागि हामी तयार रहेका छौँ ।”
Categorized in राष्ट्रिय