STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चिसोले सिरहाको जनजीवन कष्टकर

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ३, बिहिबार

विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् । बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन् । जाडोले काममा जान समस्या हुन थालेपछि उनीहरुको हाथमुख जोड्ने समस्या हुन थालेको छ । अत्यधिक चिसोका कारण विद्यालयमा पनि कम बालबालिका उपस्थित हुने गरेको छ । गत शुक्रबार र शनिबार परेको पानी र त्यसपछि चलेको शीतलहरका कारण काममा जानै नसकिएको निर्माण मजदूरले बताएका छन् । चिसोका कारण रुघाखोकी, निमोनिया, झडापाखाला, दमजस्ता बिरामी बढ्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा नागेन्द्र यादवले जानकारी दिनुभयो । अरु बेलाको तुलनामा जिल्ला अस्पताल सिरहा, रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल तथा अन्य निजी तथा सरकारी अस्पताल तथा स्वास्थ्य क्लिनिकमा रुघाखोकी, निमोनिया, दम तथा झाडापखालाका बिरामीको चाप बढेको जिल्ला अस्पतालले जनाएको छ । चिसोबाट जोगिन जिल्लाको ठाउँ ठाउँमा आगो बाल्ने व्यवस्था मिलाइएको र शीतलहरबाट पीडितलाई न्यानो लुगा वितरण गर्न स्थानीय तहसँग समन्वय भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय