वाग्मतीको मुहान वाग्द्वारमा स्नान गर्नेको भीड
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १, आइतबार
नयाँ वर्षको अरुणोदयसँगै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मनमोहकतातर्फ मानिसको भीड अघि बढिरहेको छ ।
यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा मेला भर्न आज बिहानैदेखि भक्तजनको भीड लागेको हो । प्रत्येक वर्ष वैशाख १ गतेका दिन त्यहाँ स्नान मेला लाग्छ ।
राजधानीको कोलाहलबाट नजिकैको शान्त एवं रमणीय स्थलमा नयाँ वर्ष मनाउन मानिसको भीड लागेको हो । यसै वर्षदेखि वाग्द्वार एवं यसको प्रवेशमार्ग सुन्दरीजलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गोकर्णेश्वर नगरपालिकोले महोत्सवको आयोजनासमेत गरेको छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र काठमाडौँ र नुवाकोट जिल्ला एवं गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्द्वार नव वर्षका दिन स्नानका लागि पवित्र तीर्थस्थल मानिन्छ । आजको दिनमा यहाँ आई स्नान गरेमा पाप पखालिई अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको वैशाख सङ्क्रान्तिका दिन वाग्मतीमा स्नान गरेमा मनकामना सिद्ध हुने धार्मिक विश्वास समेत छ ।
वैशाख महीना र वाग्मतीको सम्बन्ध रहेकाले प्राचीनकालदेखि नै चोभारदेखि वाग्द्वारसम्म वाग्मती तीर्थयात्रा गर्ने विधान छ । विसं २०३० देखि लोप भएको यो जात्रालाई पशुपति क्षेत्र विकास कोषले २०७५ देखि निरन्तरता दिएको छ । यस वर्षको तयारी पनि शुरु गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो ।
वाग्द्वारको उत्पत्तिका विषयमा विभिन्न किम्बदन्ती प्रसिद्ध छन् । सृष्टिको शुरुमा ब्रह्माजी मृगेन्द्रशिखरको मध्यभागमा तपस्या गरेर बस्दा पानीको अभाव भयो । ब्रह्माजीले शिवजीको ध्यान गरी शिवजीको वाग् अर्थात् बोलीबाट प्रकट भएकाले यस नदीको नाम वाग्मती रहेको नेपाल माहात्म्यको हिमवत्खण्ड लगायतका धार्मिक ग्रन्थमा व्याख्या गरिएको वेदमा विद्यावारिधि गर्नुभएका प्रा डा ऋषिराम पोखरेल बताउनुहुन्छ ।
“ब्रह्माजीले शिवजीको तपस्या गर्दा सबै देवता आई देवसभा नै यहीँ भएको वर्णन धार्मिक ग्रन्थमा पाइन्छ, यही सभाका समयमा शिवजीको बोलीबाट वाग्मती प्रकट भएकाले यस नदीलाई ब्राह्मी, सरस्वती, भारती, वाग्वती र वाग्मती आदि नामले पुकारिन्छ”–उहाँले भन्नुभयो ।
वाग्मती प्रकट भइसकेपछि शिवजीले यस नदीमा स्नान गर्न हिँडेमा मात्र पनिअश्वमेध यज्ञ गरे बराबरको फल प्राप्त हुनेछ, भक्ति र मुक्ति प्राप्त हुनेछ भनी वरदान दिएकाले अहिलेसम्म पनि स्नान मेला लागेको धार्मिक विश्वास छ ।
वाग्मती नदी प्रकट भएको मृगेन्द्र शिखरको जल खाएमा भक् भके बोली भएकाको बोलीमा शुद्धता आउने जन विश्वास छ । यही विश्वासका कारण पनि वैशाख १ गते हजारौँ मानिस स्नान र जल सेवनका लागि वाग्द्वारमा आउने गर्छन् ।
शिवजीको बोलीबाट वाग्मती प्रकट भएर अरु नदी मिसिने प्रत्येक स्थानमा तीर्थ बन्नेछ र यहाँ स्नान एवं दान गरेमा पुण्य प्राप्त हुनेछ भनी भगवान विष्णुले वरदान दिएकाले सूर्यग्रहण, चन्द्रग्रहण र औँसी आदि पर्वमा वाग्मतीमा स्नान गरी दान दिने परम्परा सनातनदेखि चली आएको संस्कृति विषयमा विद्यावारिधि गर्नुभएका पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डन बताउनुहुन्छ ।
वाग्मती नदी भारतमा रहेको जमुना नदीसँग नमिलुञ्जेल अविच्छिन्नरुपमा वाग्मतीकै नामले चिनिने र यसबीचमा एक हजार आठ तीर्थस्थल बनेका छन् । प्राचीन कालमै तपस्या, ध्यान र साधनाका लागि सिद्ध स्थल मानिएको शिवपुरी क्षेत्रमा अगस्त्य, दधिची र कार्तिकेय लगायतका ऋषिले आई तपस्या गरेको प्रमाण विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । आधुनिक युगमा पनि शिवपुरी बाबा यसै क्षेत्रमा आई तपस्या गरेर विश्वप्रसिद्ध हुनुभयो । हाल २३ वर्षदेखि टोड्के बाबा नामले परिचित एकजना साधु वाग्द्वारमै बसेर तपस्या गरिरहनुभएको छ ।
यस क्षेत्रमा शिव पार्वतीको जोडी घुम्दै आउँदा सुन्दरीजलको झरनाबाट मोहित भएर शिव त्यहीँ बसी तपस्या गर्दा शैलमतेश्वर र पार्वती तपस्या गरेको स्थान शैलवती अर्थात् सुन्दरीमाईका रुपमा अहिलेसम्म पनि प्रख्यात छन्् । दुवैको नामबाट प्राचीनकालदेखि नै सुन्दरीजल नामकरण भएको स्थानीयवासीको विश्वास छ ।
प्रत्येक वर्ष वैशाख १ गते वाग्द्वारमा स्नान गर्न आउने सानेपाकी प्रतिमा अम्गाईँ आफुमा आनन्द बढेको र वर्षमा एकपटक मात्र भएपनि वन जङ्गलको मार्गमा तीन घण्टा हिँड्दा स्वास्थ्यमा राम्रो भएको अनुभवले स्नान गर्न जाने गरेको बताउनुहुन्छ ।
वाग्द्वार संरक्षण समितिका उपाध्यक्ष अरुण ठकुरी वाग्मतीको उद्गमस्थलमा स्नान गरी शिवपुरी डाँडामा रहेको ३५ मिटर अग्लो शत रुद्रेश्वर शिलामा पूजा गर्ने विधि रहेको बताउनुहुन्छ । दर्शनार्थीले यसपछि विष्णुद्वारमा स्नान गरेर विष्णुपादुकामा दर्शन गर्ने विधान छ । यसो गरेमा दर्शनार्थीको मनकामना पूरा हुने जनविश्वास छ ।
वाग्द्वार बूढानीलकण्ठ र सुन्दरीजल दुई ठाउँबाट जान सकिन्छ । बूढानीलकण्ठबाट तीन घण्टा र सुन्दरीजलबाट साढे तीन घण्टा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रमणीय यात्रा गरेपछि प्राकृतिक छटा र सौन्दर्यले भरिएको वाग्द्वार पुगिन्छ ।
वैशाख १ गते वाग्द्वार, सपनतीर्थ स्नान गरी भक्तपुरको विस्केट जात्रा हेरेमा वर्षभर रोगव्याध नलाग्ने किम्बदन्ती समेत छ ।
Categorized in राष्ट्रिय


