अब पसलहरु खुल्ने, जाेरबिजाेरमा गाडी चलाउन पाउने, एसईई परीक्षा नहुने (सुचीसहित)
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २८, बुधबार
काठमाडाैं - सरकारले सबै पसल र निजी सवारीसाधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
बुधबार अबेर सम्पन्न मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
यसैगरी निजी सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । यो निर्णय बिहीबारदेखि नै लागू हुने जनाइएकाे छ । जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्को राति १० बजे सकिएको बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो । ‘ट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको छ । ती सवारी साधन जोर-बिजोर प्रणालीमा संचालन हुनेछन् । लामो रुटकालाई भने अहिले अनुमति नदिने भनिएको छ । जोर अंकको गते सवारी साधनको अन्तिम अंक जोर भएका सवारी साधन र बिजोर अंकको गते सवारी साधनको अन्तिम अंक बिजोर भएका सवारी साधन मात्रै चल्न पाउनेछन् ।
मन्त्रिहरुको सुझावलाई समेत ध्यानमा राखेर परिमार्जित मोडालिटीलाई प्रधानमन्त्री केपी ओलीले बिहीबार बिहान अन्तिम रुप दिएपछि दिउँसो ३ बजे पत्रकार सम्मेलनमा सरकारका प्रवक्तामार्फत विस्तृतमा सार्बजनिक गरेर जानकारी दिइने एक मन्त्रीले बताए ।
पहिलो चरणमा कृषीसँग जोडिएका क्रियाकलापलाई अघि बढाउने, कम जोखिमका क्षेत्रहरुमा बजारहरु स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य मापदण्ड र गृह मन्त्रालयको सुरक्षा मापदण्ड अनुसार खुलाउन दिने तथा निजी सवारी साधनलाई जोर/बिजोरका आधारमा संचालन गर्न दिने दिने निर्णय भएको छ ।
तर, जोखिमयुक्त जिल्लाहरुमा भने सरकारको यो निर्णय लागू हुनेछैन । लकडाउन खुलाउने विषयमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले तयार पारेको सिफारिसमा केन्द्रीत रहेर मन्त्रिपरिषदमा झण्डै साँढे चार घण्टा लगातार छलफल भएको थियो । असार दोस्रो सातासम्म पहिलो चरणको परिर्वतित मोडालिटीका आधारमा अर्को चरणमा लामो दूरीका सवारी साधन तथा विद्यालयहरु खुलाउने विषयमासमेत औपचारिक निर्णय गर्ने सरकारको तयारी छ ।
एसईई नगर्ने निर्णय
त्यस्तै सरकारले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विद्यालयको अन्तरिक मूल्यांकनलाई मान्यता दिने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले बताए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसइई हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण प्रस्ताव गरेको थियो।
मन्त्रालयले सुझाव कार्यदल समेत गठन गरेको थियो। कार्यदलले एसईई परीक्षाबारे दिएको प्रतिवेदनका आधारमा प्रस्ताव तयार भएको थियो। नेपालमा कोरोना देखिन थालेसँगै परीक्षा स्थगित भएको थियो। विद्यालयको मूल्याङकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा फल तयार गर्ने र प्रमाणिकरण गर्ने जनाइएको छ।
पहिलो चरणमा भोलिबाट खुल्ने सेवा र कार्य:
१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत
२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
४) फोहोरमैला व्यवस्थापन
५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
९) उत्पादनशील उद्योग
१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)
१२) निर्माण कार्य (निजीसमेत)
१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
१५) क्वारेन्टिनका लागि तोकिएका होटल
१६) बिजुलीका सामान बिक्री र मर्मत
१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप
१८) पुस्तक पसल तथा स्टेसनरी
१९) सबै प्रकारका ढुवानी सेवा
२०) अत्यावश्यक सेवाका कार्यालय
२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)
निम्न सेवा र कार्यमा भने लकडाउन जारी रहनेछ:
१) शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)
२) सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्यपदार्थबाहेक)
३) सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल
४) अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान
५) तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत
६) सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन
७) २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार
८) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल
९) स्विमिङ पुल, जिमखाना, साउना, स्टिम लगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर
१०) खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुति
११) पहिलो चरणमा खुल्ने भनी माथि तोकिएका बाहेक अन्य सबै सवारी साधन
१२) बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन।
माथि उल्लिखित पहिलो चरण २१ दिनसम्म लागू भएपछि सरकारले फेरि कोरोना भाइरस संक्रमणको स्थिति मूल्यांकन गर्नेछ। स्थिति अनुकूल रहेमा दोस्रो चरण लागू हुनेछ, जुन १५ दिन कायम हुनेछ।
दोस्रो चरणमा खुल्ने सेवा र कार्य:
१) सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था (सामान्यतया ७५ प्रतिशत कर्मचारी रहने गरी)
२) एक लहरमा एक जना यात्रु मात्र बस्ने गरी विद्युतीय रिक्सा
३) ट्याक्सी (चालकबाहेक थप दुई जना यात्रु रहने गरी)
४) रेस्टुरेन्ट तथा खाजाघर (व्यक्ति-व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दुरी कायम रहने गरी)
माथि उल्लिखित दोस्रो चरण १५ दिनसम्म लागू भएपछि सरकारले फेरि कोरोना भाइरस संक्रमणको स्थिति मूल्यांकन गर्नेछ। स्थिति अनुकूल रहेमा थप १५ दिनका लागि तेस्रो चरण लागू गरिनेछ।
तेस्रो चरणमा खुल्ने सेवा र कार्य:
१) सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय
२) संक्रमणको जोखिम विश्लेषण गरी १०० भन्दा कम सक्रिय केस भएमा अन्तर-जिल्ला आवागमन
३) सिट क्षमताको आधा व्यक्ति रहने गरी सबै प्रकारका सवारी साधन
४) आन्तरिक हवाई उडान
५) होटल, लज, रिसोर्ट, ट्राभल एजेन्सी, पदयात्रा, पर्वतारोहण
६) अन्तर्राष्ट्रिय हवाई उडानको बुकिङ
७) शिक्षण संस्था (परीक्षा प्रयोजनका लागि मात्र)
८) तालिम तथा ट्युसेन केन्द्र
Categorized in राष्ट्रिय