आजदेखि मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य हुने
Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १, बुधबार
काठमाडौं - निर्वाचन आयोगले आज असार १ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुरू गर्ने भएको छ ।
आयोगले मङ्गलबार पत्रकार सम्मेलत गरी आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने जनाएको हो ।
मतदाता नामावली सङ्कलन सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवम् ७३ वटा ईलाका प्रशासन कार्यालयबाट हुने आयोगले जनाएको छ ।
यसैगरी, पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने पनि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि सच्याइने छ ।
यसैगरी, कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने ।
निवेदन दर्ता भएको कार्यालयले प्राप्त निवेदन उपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित जिल्लामा आवश्यक प्रमाण समेत स्क्यान गरी पठाउने र कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलवाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिने छ ।
फोटो सहितको मतदाता नामावली सङ्कलन भए बमोजिम आयोगबाट वितरण भएको मतदाता परिचय पत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको भए त्यस्तो व्यक्तिको नाम दर्ता गरिने छ ।
प्रवक्ता पौडेलले मतदाता नामावली ऐन, २०७३ बमोजिम प्रतिनिधिसभा र प्रदेशसभा सद्यस्य निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम दर्ता नगरिने जानकारी दिए ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा हुने सम्भावना रहेकोले सो घोषणा हुनु पूर्व नै मतदाता नामावलीमा नाम सङ्कलन गर्न योग्यता पुगेका सबै नागरिकहरुलाई आफ्नो नाम दर्ता गराउन आयोग अनुरोध गरेको छ ।
Categorized in राष्ट्रिय

