आपत्तिजनक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २१, बुधबार
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको विषयमा कतिपय सञ्चारमाध्यम (अनलाइन)बाट सम्प्रेषित समाचारप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानकर्षण गरेको छ ।
प्रधानमन्त्री ओलीको फागुन २१ गते बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । ओलीको मिर्गौला प्रत्यारोपण विषयमा केही अनलाइनहरुमा देखिएका आपत्तिजनक समाचारप्रति खेद जनाउँदै प्रेस काउन्सिल नेपालले एक ध्यानकर्षण पत्र जारी गरेको छ ।
काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको हस्ताक्षर रहेको उक्त पत्रमा भनिएको छ, “मिर्गौला प्रत्यारोपणको सफलता र शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्नुपर्ने मानवीय धर्मविपरीत केही अनलाइन मिडियाबाट जिम्मेवारीबोधको समेत ख्याल नराखी पेशागत मर्यादाविपरीत समाचार सम्प्रेषण हुनु दुःखद पक्ष हो ।”
उक्त पत्रमार्फत् प्रधानमन्त्री ओलीको नेपालमै हुन लागेको मिर्गौला प्रत्यारोपणलाई सकारात्मक आँखाले हेर्न समेत काउन्सिलले आग्रह गरेको छ ।
मानवीय संवेदनाको समेत ख्याल नराखी उपचारको मुखमा गलत मनशायले समाचार सम्प्रेषण गर्दा मिडियाकै गरिमा घट्ने जनाउँदै काउन्सिलले कर्तव्य र जिम्मेवारीसहितको प्रेस स्वतन्त्रता उपभोग गर्न र सोही अनुरुप समाचार सम्प्रेषण गर्न आग्रह पनि गरेको छ ।
Categorized in राष्ट्रिय