STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उधारोमा मागेर औषधि वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २९, आइतबार

कञ्चनपुर भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालले विगत केही महीनायता लक्षित वर्गलाई वितरण गर्नुपर्ने औषधि उधारोमा मागेर वितरण गरिरहेको छ । लक्षित वर्गले प्रदान गरिने निःशुल्क औषधिको अभाव भएपछि अस्पतालले उधारोमा ल्याएर विगत तीन महीनादेखि प्रदान गर्दै आएको हो । अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र इकाइमार्फत गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंमसेविका, शहीद परिवारलगायतलाई निःशुल्क वितरण गर्नुपर्ने औषधि तीन महीनायता अभाव रहेको छ । “औषधि अभावका कारण केही समय लक्षित वर्गका बिरामीलाई दिन सकिएन”, महाकाली अञ्चल अस्पताल प्रशासनका सूचना अधिकृत केशवदत्त अवस्थीले भन्नुभयो,“पछि साँझाबाट उधारोमा मागेर काम चलाउने कुरो भयो ।” औषधिमा अभाव हुँदा सामाजिक इकाइबाट प्रक्रिया पु¥याएपछि बिरामीले साझाबाट औषधि लैजानुपर्ने प्रबन्ध मिलाएको सूचना अधिकृत अवस्थीले जानकारी दिनुभयो । औषधि सहज रुपमा अस्पतालबाट नपाउँदा बिरामीले सास्ती खेप्नुपरेको छ । अस्पताल प्रशासनले औषधि खरीद गर्न सुदूरपश्चिम प्रदेश सरकारसंग पनि गुहार मागेको छ । तर बजेट छुट्याइएको विषय जानकारी नभएको अवस्थीले बताउनुभयो । सूचना अधिकृत अवस्थीले औषधिका लागि सङ्घीय सरकारबाट चालु आर्थिक वर्षमा रु तीन लाख मात्रै आएको जानकारी दिनुभयो । उहाँले गत र चालू आर्थिक वर्षमा गरी इकाइले ल्याइएको रु १५÷१६ लाख मूल्य बराबर उधारो औषधिको रकम तिर्न बाँकी रहेको बताउनुभयो । सामाजिक इकाइबाट दैनिक २० देखि ३० जना लक्षित वर्गका सेवाग्राही औषधिका लागि आउने गरेका छन् ।
Categorized in राष्ट्रिय