उपत्यकामा पनि कोरोना संक्रमण बढ्दै, एकैदिन ३२ जनामा संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १८, बिहिबार
काठमाडौं - बिहीबार मात्रै उपत्यकामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।
सरकारले लकडाउन खुकुलो बनाएसँगै मानिसको गतिविधि पनि बढ्दै गएपछि कोरोना भाइरस संक्रमण फैलिँदै गएको हो। उपत्यकामा चार दिनको अवधिमा ७१ जनामा कोरोना संक्रमण देखिएको छ।
नयाँ संक्रमित हुनेमा काठमाडौंका १७ महिला र ११ पुरुष गरी २८ जना , ललितपुरका २ जना पुरुष र भक्तपुरका २ पुरुष गरी ३२ जनामा कोरोना संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार सोमबार उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको थियो। यस्तै मंगलबार १४ जना र बुधबार १७ जना भाइरसबाट संक्रमित भएका थिए। उपत्यकामा कोरोना संक्रमण फैलिँदै गएपछि स्वास्थ्य मन्त्रालयले अनावश्यक रुपमा घरभन्दा बाहिर नजान अनुरोध गरेको छ।भाइरस संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न,मास्क लगाउन, खानपानमा ध्यान दिन र पटक पटक साबुन पानीले हात धुन स्वास्थ्य मन्त्रालयको सुझाएको छ।
यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ। बिहीबार मात्र ४७३ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १४ हजार ५१९ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना जित्नेको संख्या ५ हजार ३२० पुगेको छ। बिहीबार मात्र ६६४ जना कोरोना जितेर घर फर्किएका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३८ हजार १०९ जना रहेका छन् । आइसोलेसनमा भने १० हजार १३७ जनाको उपचार भइराखेको छ ।
हालसम्म पीसीआर विधिबाट २ लाख ३७ हजार ७६४ जनाको र आरडीटी विधिबाट ३ लाख ६२०नमूना परीक्षण भएका छन्। कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बिहीबार ४९ दिने शिशुको मृत्यु भएसँगै संक्रमितको संख्या ३१ पुगेको हो।
Categorized in राष्ट्रिय