STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं उपत्यकामा भारी वर्षा, देशभर विभिन्न सडक अवरुद्घ

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ २२, शनिबार

काठमाडौं - काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । २४ घण्टामा काठमाडौं उपत्यकामा भारी वर्षा मापन भएको हो । 

कीर्तिपुरमा १०७.२ मिलिमिटर वर्षा भइसकेको छ । नैकापमा १०३.४ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कपनमा ६२.२ मिलिमिटर वर्षा भएको छ । 

टीकाथलीमा ८३.४, बबरमहलमा ७५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा लेलेमा १३८ मिलिमिटर वर्षा भइसकेको छ । काठमाडौंमा शुक्रबार रातिदेखि वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमती नदीमा बाढी आएको छ । 

नदी छेउका बस्तीहरूमा सतर्क रहन आग्रह गरिएको छ । ललितपुरका धापाखेल, शंखमुललगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीले जनजीवन प्रभावित भएको छ । नदी छेउका सडकहरू डुबानमा परेका छन् । 

देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्।

गएरातिदेखिको अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा बाढी आएको छ। बाढीका कारण तटीय क्षेत्र डुबानमा परेका छन्। विपद पोर्टलका अनुसार  वर्षापछिको पहिरोका कारण १८ वटा राजमार्ग अवरूद्ध छन्।  

 

सिद्धार्थ राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ। बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ। स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

वर्षाले सिद्धार्थ राजमार्गको वालिङ–१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ। वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ।

सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्णरुपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ। सिद्धार्थ राजमार्गसँगै ग्रामीण क्षेत्रका अन्य सडक पनि पहिरोले अवरुद्ध छन्। यात्रु बीच बाटोमै रोकिएका छन्।

 

विपी राजमार्गमा यातायात ठप्प 

पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ। सिन्धुलीको  सुनकोसी गाउँपालिका–२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले आज बिहानैदेखि यातायात सेवा ठप्प छ।

राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन्। यात्रु अलपत्र परेका छन्। वर्षा निरन्तर भइरहेकाले अवरुद्ध राजमार्ग खुलाउन समस्या भएको छ। डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए।

यसैबीच मध्यमहाडी राजमार्गअन्र्तगत रहेको गोलञ्जोर गाउँपालिका–६ अकरेभिर र फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा पनि पहिरोसहित बगेर आएको लेदोले बिहानैदेखि सडक अवरुद्ध भएको थियो। अहिले सो क्षेत्रमा पहिरो पन्छाएर यातायात सेवा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

हेटौँडा–काठमाडौँ सडकखण्डमा पहिरो 

बिहानैदेखि परेको वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ। उक्त सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर–२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ठूलो पहिरो गएकाले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन। प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकाले अन्य बाटो प्रयोग गर्न आग्रह गरेको छ।

यस्तै भीमफेदी–फाखेलतर्फको सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ। इन्द्रसरोवर–५ महालक्ष्मी खोलामा पहिरो गएका कारण भीमफेदी–फाखेल–मातातीर्थ सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

यसैगरी कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण आज बिहानैदेखि सडक अवरुद्ध छ। ललितपुरको बागमती गाउँपालिका–३ पाङजुरे (भट्टेडाँडा नजिक) मा पनि पहिरो गएको छ। पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए। त्रिभुवन राजपथ, हेटौँडा–फापरबारी–सिन्धुली खण्ड र पूर्वपश्चिम राजमार्गमा भने यातायात सेवा सञ्चालनमा छ।

 

बेँसीसहर–चामे सडक अवरुद्ध

पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ। यस सडकअन्तर्गत लमजुङ जिल्ला मस्र्याङ्दी गाउँपालिका–४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरुपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको बताए। पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन्। चामे गाउँपालिका–१ तिमाङ खोलामा गत मङ्गलबार आएको बाढीले काठेपुल र मोटरेवल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको सूचना अधिकारी पोखरेलले बताए।

 

घोराही–तुलसीपुर सडक सडक अबरुद्ध

दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ। बाढीले आज  बिहान उक्त डाइभर्सन बगाएको हो। सो ठाउँमा असहले आवतजावत ठप्प छ। जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ। घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ। 

दाङकै लमहीमा राप्ती नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। दुई जनाको भने उद्धार भएको छ। जिल्लाको राजपुर गाउँपालिका – २ का  १९ वर्षीय  राजकुमार यादव राजकुमार यादवलाई राप्तीको बाढीले बगाउँदा बेपत्ता छन्।

इलाका प्रहरी कार्याल अमेलिका प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठ बेपत्ता युवकको खोजीको प्रयास जारी रहेको बताए । एकाबिहानै राजपुरबाट राप्ती नदी तरेर दूध बेच्न लमही आएका उनलाई फर्किने क्रममा बाढीले बगाएको हो।

उनीसंगै रहेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने उद्धार भएको छ।  नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई उद्धार गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

 

बाढीले वीरगन्जको विभिन्न ठाउँ डुबानमा

गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन्। महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन्।

पानी सडकमै जम्मा भएर स्थानीयको घर भित्र पस्न थालेको छ। जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए।  डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ।

वर्षा भएपछि यहाँका किसान खुसी भएका छन्। पानी परेपछि रोपाइँ गर्न पाइने आशले उनीहरु खुसी भएका हुन्। पर्सामा कुल ५४ हजार पाँच सय हेक्टर खेतियोग्य जग्गा रहेको छ। यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ।

 

कर्णाली राजमार्ग अवरुद्व

शुक्रबारदेखि परेको वर्षाका कारण पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडकखण्ड अवरुद्ध भएको छ। कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध छ। सडक अवरुद्ध हुँदा सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएका छन्।सडक  खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बीरबहादुर ओलीले जानकारी दिए। (रासस)

Categorized in राष्ट्रिय