कालजयी गीत ‘राजमती’को नेपाली भर्सन सार्वजनिकको अवसरमा विजयरत्न पुरस्कृत
Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र १९, बुधबार
नेपालको सांगितिक संसारमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको र पहिलो पटक करिब ११५ बर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको कालजयी गीत ‘राजमती’को नेपाली भाषामा पनि पुनर्लेखन ,संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको छ ।
बुधबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘राजमती’ गीतको नेपाली भर्सन सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा गायक सेतुराम प्रधानको परिवारलाई सम्मान गरिएको थियो भने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार बिजयरत्न तुलाधर र राष्ट्रिय युवा उद्यमी पुरस्कारबाट व्यवसायी फुपु तेञ्जिङ्ग शेर्पालाइ सम्मानित गरिएको छ।
आदि गायकको रुपमा परिचित नेपालको पहिलो गायक सेतुराम प्रधानले बि.सं. १९६५ तिर भारतको कलकत्ता गई नेपाली र नेपाल भाषाका ‘राजमती’सहित १४ वटा गीतहरू आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएका थिए ।
नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना पनि यही हो । यही सर्वप्रिय गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा तयार गरी प्रकाशमा ल्याइएको छ ।
गएको दुई सय ५० वर्ष अगाडि राणा प्रधानमन्त्री जंगबहादुर बेलायत भ्रमणमा रहँदा नेपालको राष्ट्र गानको रुपमा प्रस्तुत गरिएदेखि आजको मितिसम्मै उत्तिकै जोस, जाँगर र रसका साथ लगातार गाइने कालजयी गीतलाई अझ ससारभरका नेपालीभाषी थप परिचित बनाउने उद्देश्य सहित नेपाली भर्सनमा ल्याएको निर्माता कम्पनी ड्रिम वर्ल्ड अफ फिल्म मेकर्सले जनाएको छ ।
गीतलाई १०० वर्ष अगाडिको कथाबस्तु अनुसार नै बनाइएको र सोही अनुरुप भिडियो निर्माण गरिएको हो । सागर खनाल र सोनी लगुन लगायत धेरै कलाकारहरुको अभिनय रहेको भिडियोको कन्सेप्ट र निर्देशन सबनम मुखियाले गरेकी हुन् भने गीतको प्रोड्युसर रश्मी प्याकुरेल हुन् ।
यसलाई बजारमा ल्याउन म्युजिक नेपाल , सेन्सोडाइन टुथपेस्ट र करेन्ट चाउचाउले सहयोग गरेका छन् ।
Categorized in साहित्य-कला

