कोरोना भाइरससम्बन्धी काठमाडौं महानगरपालिकाको जनचेतना अभियान
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २५, आइतबार
काठमाडौं– कोरोना भाइरसको त्रासबाट मुक्त हुन काठमाडौं महानगरपालिकाले एक वृहत् जनचेतना कार्यक्रम आयोजना गरेको छ ।
राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा कोरोना र डेंगे रोगको महामारी सम्बन्धमा काठमाडौंका ३२ वटै वडामा जनचेतना कार्यक्रम थालिने जानकारी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दिएका छन् ।
“कोरोना भाइरसको महामारीबाट त्रसित हुन छोडेर यसलाई कसरी व्यवस्थापन गर्ने त्यसतर्फ ध्यान दिइनुपर्छ । सामाजिक सञ्जाल र कुनै कुनै मिडियाले यसबारे अनावश्यक हल्ला तथा भ्रम छरेर जनतालाई त्रसित बनाएका छन् । सही सूचना प्रवाह नभएसम्म जनतामा त्रास कायम रहिरहनेछ,” शाक्यले कार्यक्रममा भनेका छन् ।
कार्यक्रममा मेयर शाक्यले महानगरपालिकाका ३२ वटै वडामा अब जनचेतना अभियान सञ्चालन गरी महामारीबाट कसरी बच्ने र यसको व्यवस्थापनबारे सिकाइने जानकारी दिएका छन् । यसको लागि ३२ वटै वडाका जनप्रतिनिधि र स्वयंसेविकाहरुलाई जनताका घर–घर पुगी जनचेतनामूलक कार्यक्रम गर्न पनि मेयर शाक्यले निर्देशन दिएका छन् । आम नागरिकलाई त्रासमा नरहन र महामारीबाट कसरी बच्ने त्यसका उपायबारे जानकारी रहन पनि मेयर शाक्यले आग्रह गरेका छन् ।
काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखाबाट यसप्रकारको जनचेतनामूलक कार्यक्रम यसअघि वडा नं. १५ मा भइसकेको जानकारी पनि मेयर शाक्यले दिएका छन् ।
उक्त कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका निम्ति प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ, इपिडेमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे र डा. प्रकाश शाहले कोरोना भाइरससम्बन्धी सचेतनामूलक मन्तव्य राखेका थिए ।
चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वमा महामारीकै रुप लिइरहेको बेला नेपालमा पनि यसको त्रास बढ्दो छ ।
Categorized in राष्ट्रिय