STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जुम्लामा आँखा शिविर

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २७, शुक्रबार

यही वैशाख २२ गतेदेखि २४ गतेसम्म यहाँ सञ्चालन भएको आँखा शिविरमा ९५१ बिरामीले सेवा लिएका छन् । शिविरमा १८३ को आँखाको साधारण शल्यक्रिया गरिएको र १०४ को मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्र जुम्लाका प्रमुख कालीबहादुर रावतले जानकारी दिनुभएको छ । शिविरको पहिलो दिन आइतबार ४०० को आँखाको परीक्षण भएकामा ३७ को शल्यक्रिया गरिएको थियो । दोस्रो दिन ३५५ को आँखाको परीक्षण भएकामा ४० को शल्यक्रिया गरिएको प्रमुख कालीबहादुर रावतले जानकारी दिनुभएको छ । शिविरमा बिरामीलाई आवश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले प्रत्येक वर्ष आँखाका बिरामीले घरआँगनमै उपचार गर्न पाउनु अवसर भएको बताउनुभयो । गाउँमै शिविर सञ्चालन हुँदा यतायात खर्च, खाना खर्च देखि सबैको झन्झटबाट मुक्त भएको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा जिल्ला प्रशासनको तर्फबाट सहयोग गर्न तयार उहाँले भएको जानकारी दिनुभएको छ । नेत्रज्योति सङ्घ जिल्ला कार्यसमिति जुम्लाका सभापति तथा केन्द्रीय सदस्य धनबहादुर बस्नेतले सबै पक्षबाट राम्रो सहयोग भएको बताउनुभयो । शाखालाई विस्तार गर्दै आँखा अस्पतालसम्म लैजानका लागि सबैको समन्वय र सहकार्यको आवश्यक रहेको बस्नेतको भनाइ छ । शिविरमा भएको सम्पूर्ण खर्चको विवरण एक हप्तापछि सार्वजनिक गरिने नेत्रज्योति सङ्घ जिल्ला कार्यसमिति जुम्लाका कोषाध्यक्ष कालीबहादुर महतले बताउनुभयो । शिविर सञ्चालनका लागि चन्दननाथ नगरपालिकाबाट ५० हजार, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले रु तीन हजार, कान्जीरुवा होटलका नोर्वु लामाले रु पाँच हजार, प्रमुख जिल्ला अधिकारी बन्जाडेले रु एक हजार २७५ र जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी सीताराम रिजालले रु एक हजार २७५ सहयोग गरेकामा उहाँले धन्यवाद दिनुभएको छ । यस्तै खलङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट रु १० हजार, उद्योग वाणिज्य सङ्घ जुम्लाबाट रु पाँच हजार सहयोग गरेको कोषाध्यक्ष कालीबहादुर महतले बताउनुभयो । जुम्लामा आँखाका बिरामीले आफ्नै घरआँगनमा सस्तो र सुलभरूपमा सेवा लिन पाएकामा स्थानीयवासीले खुशी व्यक्त गरेका छन् । हिमालय आँखा अस्पताल पोखराको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ जुम्ला शाखाको सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
Categorized in राष्ट्रिय