STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ठेकेदार कम्पनी टाट पल्टेपछि लोकमार्ग अलपत्र

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २२, शुक्रबार

मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको निर्माण गर्ने ठेकेदार कम्पनी टाट पल्टिएपछि सडक निर्माणकार्य अलपत्र परेको छ । अक्षेतेदेखि घोडाबाँधे खण्डकोे १३ किलोमिटर सडक निर्माण गर्ने जिम्मा लिएको ठेकदार कम्पनी सूर्य कन्स्ट्रक्सन टाट पल्टिन लागेपछि अहिले यहाँको काम ठप्प छ । मार्ग खोल्न शुरु भएको २० वर्षपछि कालोपत्र गर्ने तयारी अघि बढेको भए पनि बागलुङ सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक अझै पनि कालोपत्र हुनसकेको छैन । नेपालको पूर्वपश्चिम जोड्ने यस मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँ खण्डको काम यही कात्तिक मसान्तसम्म सम्पन्न गर्नेगरी विसं २०७३ मा सम्झौता भएको थियो । जिल्लाको पश्चिम क्षेत्र घोडाबाँधे–बुर्तिबाङ ६४ किलोमिटर र बुर्तिबाङदेखि रुकुमको सिमाना पातीहाल्नेसम्मको ४१ किलोमिटरमध्ये १५ किमी यस वर्ष कालोपत्र हुँदा बागलुङ खण्डमा जम्मा ७९ किमी सडक कालोपत्र भएको मध्यपहाडी लोकमार्ग आयोजनाले जनाएको छ । आयोजना प्रमुख आशिष थापाले सम्झौता गरेको मितिसम्म काम सक्ने अवस्था अब नदेखिएकाले कानूनअनुसार सूर्य कन्स्ट्रक्सन कम्पनीलाई कारवाही गर्ने प्रक्रिया अघि बढाइने बताउनुभयो । “कम्पनीनै डुब्ने अवस्थामा छ”, आयोजना प्रमुख थापाले भन्नुभयो, “ठूलो आयोजनामा चार÷पाँच जना कामदार खटाउने कम्पनीलाई हटाएर नयाँ प्रक्रियामा जान्छौँ ।” उपल्लाचौरदेखि अक्षेतेसम्मको १२ किलोमिटर सडकको जिम्मा लिएको सिद्धीसाई कन्स्ट्रक्सनले भने यसै आर्थिक वर्षमा सम्पन्न गर्नेगरी काम अघि बढाएको आयोजना प्रमुख थापाले बताउनुभयो । अहिलेसम्म कम्पनीले सडक चक्लाउने, नाली, पर्खाल निर्माण गर्नेलगायतका काम गरेको छ । विवादित जग्गा, खानेपानीका पाइप र विद्युत्का खम्बा समयमै नहटाउँदा करीब एक वर्ष निर्माणको काममा बाँधा भएपछि स्थानीय प्रशासनले सहजीकरण गरेर सबै समस्या समाधान गरेको थियो । आयोजनाले खानेपानीका पाइप हटाउनका लागि एक वर्ष अगाडि नै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई रु ३३ लाख र बिजुलीका पोल हटाउन विद्युत् प्राधिकरणलाई रु आठ लाख दिए पनि पूर्णरूपमा समस्याको समाधान अझै हुनसकेको छैन । निर्माण कम्पनीले माटो खोस्रेर छाडेपछि बर्खाभर हिलाम्मे भएर सडक अवरुद्ध हुने समस्या भोगेका यात्रुले हिउँदको समयमा सडकछेउमा थुपारिएका माटोसहितको ग्राभेलका कारण धुलाम्मे भएर सास्ती खेपिरहेका छन् । निरन्तर रुपमा दबाब दिँदासमेत काम नगर्ने ठेकदारलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने बागलुङबाट निर्वाचित सांसद डा सूर्य पाठकले बताउनुभयो । जनताको भविष्यसँग जोडिएको लोकमार्ग निर्माण गर्ने कम्पनीलाई कालोसूचीमा राख्न आफूले माग गरेको पाठकको भनाइ छ ।
Categorized in राष्ट्रिय