STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

डुडेमौरी पालन घट्दै

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ८, शुक्रबार

पहाडी क्षेत्रको परम्परागत डुडेमौरी पालन पेशा हिजोआज घट्दै जान थालेको छ । अहिले व्यावसायिक रुपमा आधुनिक तरिकाले घारेमौरी पाल्ने क्रम बढेको र यसबाट धेरै मह उत्पादन हुने र डुडे मौरीबाट मह उत्पादन कम हुने भएकाले यो पेशा घट्दै जान थालेको उदयपुर जिल्लाको रौतामाई गाउँपालिका मलबासेका कृषक बिष्णु पुलामी मगर बताउनुहुन्छ । डुडेमौरी पहाडी क्षेत्रको रौता, मुर्कुची, भुटार, साउने, खाँबु, बलाम्ता, सल्ले, बराह, बासबोटे, कटारीको रिस्कु, पञ्चावती, सिरीसे, हर्देनी, बाहुनीटार, रुपाटार क्षेत्रमा लामो समयदेखि परम्परगत रुपमा घरमा काठको डुड बनाएर पालिँदै आए पनि अहिले यो पेशा घट्दै गएको रुपाटारका कृष्ण खड्काको भनाइ छ । साउने खाँबुका कृषक मोहनप्रसाद तिमल्सिना भन्नुहुन्छ, “अहिले डुडेमौरी पाले पनि एक वर्षभरीमा दुई किलो मह पनि उत्पादन हुँदैन, अर्कोतर्फ गाउँघरमा मौरीले मह सङ्कलन गर्ने विभिन्न फलफुल तथा खेतीमा विषादी तथा रासायनिक पदार्थ प्रयोग हुन थालेपछि मौरी नै मासिने गरेकाले पनि यो पेशा घट्दै जान थालेको हो ।” जिल्ला कृषि ज्ञानकेन्द्रका अनुसार आजभन्दा तीन वर्ष अघिसम्म पनि डुडेमौरी एक हजार ४०० को हाराहारीमा रहेकामा अहिले घटेर ५०० रहेको अनुमान गरिएको छ । उक्त केन्द्रका पूर्वप्राविधिक मोहनप्रसाद फुयालका अनुसार तीन वर्ष अघिसम्म आधुनिक घारेमौरी पाल्नेको सङ्ख्या झण्डै ७०० रहेकामा अहिले बढेर एक हजार ४०० घारभन्दा बढी पुगेको छ । उक्त केन्द्रका प्रमुख सरोजकान्त अधिकारीका अनुसार अहिले बेलका नगरपालिकामा आधुनिक घारेमौरी पाल्नेको सङ्ख्या बढी छ । यस्तै रौतामाई गाउँपालिकाको बोलुङखा, मलबासे, सल्ले, पाँबु, भुटार, उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा, पञ्चावती, डुम्रे, दनुवारबेसी, ताप्ली गाउँपालिकाको रुपाटार तथा कटारी नगरपालिकाको हर्देनी, सोरुङछबीसे, बेतिनी, रिस्कु क्षेत्रका कृषकहरुले व्यापक रुपमा आधुनिक घारेमौरी पाल्दै आएका छन् । विगतमा काठको डुड बनाएर घरको पर्खालमा डुड अड्याएर मौरी पालिने चलन हराउँदै जान थालेको लिङचुङबुङ गाउँपालिका जाँतेका दीर्घध्वज थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सात वर्ष अघिसम्म पनि गाउँको प्रत्येक घरमा डुडेमौरीहरु देख्न पाइन्थ्यो । अहिले दुई चार घरमा मात्र डुडहरु छन् तर मौरी छैन, अब डुडेमौरी पेशा नै लोप हुन लाग्यो ।” त्रियुगा नगरपालिका–१५ साउनेका हर्कबहादुर मगर भन्नुहुन्छ, “डुडे मौरीपलानबाट वार्षिक तीन किलो मह पनि मुश्किलले उत्पादन हुने गरेकामा आधुनिक घारको मौरीबाट वार्षिक १६ केजीसम्म मह उत्पादन गर्न सकिने रहेछ र उत्पादन पनि हुने रहेछ, त्यसैले आफूहरुले पनि पाँच वर्षदेखि आधुनिक घारेमौरी पाल्न थालेका हौँ ।”आधुनिक मौरी पालनमा वृद्धि हुँदै जान थालेकाले अहिले एक हजार ४०० जति आधुनिक घारमा मौरी पुगेको उक्त केन्द्रका पदाधिकारी बताउँछन् ।
Categorized in राष्ट्रिय