STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तस्करीको ढोका बन्द भएको छ ः सचेतक भट्टराई

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १९, बिहिबार

राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी नेकपा का सचेतक खिमलाल भट्टराईले सरकारले तस्करी गर्नेका लागि ढोका बन्द गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भट्टराईले सुन तस्करीलाई कारवाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर प्रश्न उठ्न सक्ने उल्लेख गर्दै भन्नुभयो, “सुन तस्कर कहाँ छन् भनेर बुझ्दा सुन्धराको केन्द्रीय कारागारमा रहेछन्, सरकारले तस्करीको ढोका बन्द गरेको छ ।” उहाँले सङ्घीय सरकारले ठूलो योजनाका काम अगाडि बढाएर स्थानीय सरकारलाई बलियो बनाउने र केन्द्रलाई पनि बलियो बनाउने कुरामा ध्यान केन्द्रित गरेको स्पष्ट पार्नुभयो । सांसद भट्टराईले भन्नुभयो, “देश सकारात्मक ढङ्गले अघि बढेको छ, अधिकारमा केन्द्रीकरण गर्ने सरकारको कुनै उद्देश्य छैन ।” बैठकमा नेपाली काङ्ग्रेसका रमेशजङ्ग रायमाझीले ‘विनियोजन विधेयक, २०७६ अन्तर्गत रक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रुपैयाँ घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा सांसद रायमाझीले टिकट किन्न जाँदा छैन भन्ने तर जहाजमा सिट खाली हुने खालको अवस्थाले नेपाल वायुसेवा निगमको कामकारवाहीको गम्भीरताप्रति सरकारको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत तीन मन्त्रालयका विभिन्न विनियोजन शीर्षकमाथि छलफल शुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपति कार्यालयलगायतको विनियोजन शीर्षकमाथि छलफल जारी छ ।
Categorized in राष्ट्रिय