STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तीनकुने घटना : मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिने सरकारको निर्णय

Janjati Khabar – Janjati Khabar | २०८१ चैत्र २०, बुधबार

काठमाडौं - सरकारले तीनकुने घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई १०–१० लाख रुपैयाँ दिने भएको छ ।

गृहमन्त्रीस्तरीय निर्णयबाट मृतक सुरेश रजक र सविन महर्जनको परिवारलाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार रजकको आगोमा जलेर र कीर्तिपुरका महर्जनको गोली लागेर ज्यान गएको थियो ।

तीनकुने प्रदर्शनमा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो

राजधानीको तीनकुनेमा शुक्रवार भएको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले ५८ राउन्ड गोली प्रहार गरेको छ । गोली चल्दा २० जनालाई लागेको प्रहरीले पुष्टि गरेको छ । 

प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको प्रहरीको दाबी छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दिनेश आचार्यले अराजक भिडलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताए । 

प्रदर्शनकारीहरू विमानस्थलतर्फ अघि बढेपछि शुक्रवार दिउँसो २ बजेर ५४ मिनेटमा प्रहरीले पहिलो गोली प्रहार गरेको उनले बताए । तीनकुने घटनामा २ महिला र १८ पुरुष गरी २० जनालाई गोली लागेको उनले बताए । 

आचार्यले आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भएको, ७४६ राउन्ड अश्रु ग्यास र र १९२ पटक ब्ल्यांक फायर भएको उल्लेख गरे । 

प्रवक्ता आचार्यले तीनकुनेमा भेला भएका प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवन तर्फ अघि बढ्न खोजेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले शुक्रवार १२ बजेर ५० मिनेटमा पहिलो अश्रुग्यास प्रहार गरेको बताए । 

त्यसपछि दुर्गा प्रसाईँ नेतृत्वको भीड तीनकुनेबाट जबरजस्ती अघि बढेपछि प्रदर्शनकारी थप उत्तेजित भएको आचार्यले बताए । प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट दुर्गा प्रसाईँ र रवीन्द्र मिश्रले संसद् भवन, सिंहदरबार र विमानस्थल कब्जा गर्न माइकिङ गर्दै निर्देशन दिएको र प्रदर्शनकारी तोडफोडमा उत्रिएको प्रवक्ता आचार्यले बताए । 

तीनकुनेमा तोडफोड र आगलागी भएको घरमा जान नसकेपछि प्रहरीले पानीको फोहरा प्रहार गरेको र दमकल जान खोज्दा ढुङ्गामुढा समेत भएको प्रहरीले जनाएको छ । 

प्रवक्ता आचार्यले उक्त घटनापछि फरार रहेका दुर्गा प्रसाईँको खोजी कार्य जारी रहेको र हिंसात्मक गतिविधिमा संलग्नको पहिचान गरी नियन्त्रणमा लिइएको जानकारी दिए । 

Categorized in राष्ट्रिय