तीन जना नेवाः अगुवालाई ‘नेवाः अधिकार पुरस्कार’ प्रदान गरिने
Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १०, शुक्रबार
चर्चित समालोचक प्रा. माणिकलाल श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ एवं साहित्यकार नेवाः अगुवा मल्ल के. सुन्दरलाई यस वर्षको ‘नेवाः अधिकार पुरस्कार’
नेवाः अगुवा डा. महेशमान श्रेष्ठको परिवारबाट स्थापित ‘नेवाः अधिकार पुरस्कार’ यस वर्ष तीन जना चर्चित नेवाः अगुवाहरुलाई प्रदान गरिने भएको छ ।
‘नेवाः अधिकार पुरस्कार’ गुथिको मंगलबार बसेको बैठकले नेवाः अगुवा चर्चित समालोचक प्रा. माणिकलाल श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ तथा नेवाः अगुवा साहित्यकार एवं पत्रकार मल्ल के. सुन्दरलाई यस वर्षको ‘नेवाः अधिकार पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
आउँदो चिल्लागा तृतिया (चैत्र ९ गते) शनिबार काठमाडौंको नेपाः ब्यांक्वेटमा एक भव्य समारोह गरी उक्त ‘नेवाः अधिकार पुरस्कार’ प्रदान गर्ने कार्यक्रममा प्रमुख अतिथिको रुपमा वाङमय शताब्दी पुरुष एवं संस्कृतिविद् डा. सत्यमोहन जोशीको उपस्थिति रहने जानकारी आयोजकले दिएको छ ।
‘नेवाः अधिकार पुरस्कार’ गुथिका अध्यक्ष डा. महेशमान श्रेष्ठले जनजाति खबरलाई दिनुभएको जानकारी अनुसार तीन जना नेवाः अगुवाहरुलाई सम्मान पत्रका साथ जनही ५०–५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
‘नेवाः अधिकार पुरस्कार’बाट सम्मानित हुने नेवाः अगुवाः समालोचक प्रा. माणिकलाल श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ एवं नेवाः अगुवा साहित्यका मल्ल के. सुन्दर नेवाः आन्दोलन तथा भाषा, जाति, साहित्यसंगै नेपालको आदिवासी जनजाति आन्दोलनमा आफूहरुलाई निरन्तर रुपमा समर्पित हुँदै आइरहनुभएका व्यक्तित्वहरु हुन् ।
Categorized in राष्ट्रिय

