STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

देउवा सरकारको एक वर्ष पूरा, ४२ उपलब्धि सार्वजनिक

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २९, बुधबार

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ।

दुईपटक संसद विघटनलाई बदर गरेको सर्वोच्च अदालतको परमादेशमा देउवा २०७८ असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। देउवाले केपी ओलीलाई विस्थापन गर्दै सत्ता सम्हालेको बुधबार एक वर्ष पुगेको हो।

प्रधानमन्त्रीको सचिवालयले देउवाको एक वर्षे कार्यकालमा भएका ४२ वटा उपलब्धि सार्वजनिक गरेको छ। देउवा सरकारले एक वर्षमा गरेका महत्त्वपूर्ण काममा ओली सरकारले निम्त्याएको राजनीतिक अस्थिरता र कुशासनको अन्त्य, मुलुकलाई लोकतान्त्रिक विधि र पद्धतिमा अघि बढाउन सफल भएको, समयमै स्थानीय निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गरेको, नागरिकलाई कोभिड १९ प्रकोपबाट जोगाउन खोपलाई प्राथमिकतामा राखेको, खोप लगाउन योग्य सबै नागरिकलाई पूर्ण खोप दिलाउन सफल भएको, कोरोना प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न विशेष प्याकेज सार्वजनिक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सफल भएको उल्लेख छ।

त्यसैगरी सबै मुलुकसँग प्रगाढ सम्बन्ध बनाउन राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अवलम्बन गरेको, आन्दोलनमा घाइते भई यथोचित उपचार नपाएकाहरुको उपचार व्यवस्था, अंगभंग भएकाहरुलाई क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारीको व्यवस्था गरेको एक वर्षे उपलब्धिमा देखाइएको छ।

क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता प्रदान, अति विपन्न गरिब घरपरिवारलाई प्रतिघर परिवार दश हजार रुपैयाँका दरले राहत दिने घोषणा, युवा विद्यार्थी लक्षित पढ्दै कमाउँदै कार्यक्रम र नारी समुदाय लक्षित महिला पहिला कार्यक्रम घोषणा गरेको कुरालाई पानि उपलब्धिको सूचीमा राखिएको छ।

एमसीसी अनुमोदन, ज्येष्ठ नागरिकलाई ६८ वर्षमै भत्ता उपलब्ध, किसानलाई पेन्सनसहित प्रोत्साहन र राहतका योजना, जटिल प्रकारका रोग लागेका नागरिकलाई मासिक पाँच हजार रुपैयाँ राहत भत्ता, गरिबीको रेखामुनि रहेका विरामीलाई ९८ प्रकारका औषधि निशुल्क, राष्ट्रसेवक कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि, एमालेले ९ महिनादेखि अवरोध गरेको संसदको गतिरोध अन्त्यलाई पनि उपलब्धिका रुपमा मानिएको छ।

त्यस्तै एसपीपी फिर्ता गर्ने निर्णय, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण, प्रधानमन्त्रीको भारत भ्रमण, अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमण, प्रधानसेनापतिको अमेरिका भ्रमण, चिनियाँ विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमण, एक चीन नीतिको प्रतिबद्धता पनि महत्त्वपूर्ण कामका रुपमा बालुवाटारले प्रस्तुत गरेको छ।

त्यस्तै छिमेकी भारतमा विजुली विक्री सुरु, कर घटाएर पेट्रोलियम पदार्थको मूल्य समायोजन र महंगी नियन्त्रण, नागरिकता विधेयक संसदमा पेश गरेको पनि उपलब्धिका रुपमा उल्लेख गरिएको छ।

Categorized in राजनीति