STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

देशैभरि प्रतिवाद गर्ने पौडेलकाे चेतावनी, पौडेलकाे पक्राउमा कांग्रेसकाे चर्काे विराेध

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १७, बुधबार

तनहुँ – तनहुँकाे ब्यास नगरपालिकाको बुल्दी खोलामा बसेको पुल उद्घाटनका लागि जाने क्रममा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ। पौडेलसहित पक्राउ कांग्रेस कार्यकर्ता सबै रिहा भएको तनहुँ कांग्रेसले जनाएको छ।

अहिले पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन्। बुधबार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको थियो।

नेता पौडेल पक्राउ परेको विषयको चौतर्फी विरोध भएपछि प्रहरीले साढे ५ बजे नेता पौडेलसहित पक्राउ परेका कांग्रेसका नेता तथा कार्यकर्तालाई रिहा गरेको हो।रिहा भएलगत्तै वरिष्ठ नेता पौडेलले भने आफूलाई सुनियोजित ढंगले नै पक्राउ गरिएको र यसको देशैभरि प्रतिकार हुने बताएका छन् ।

व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि बनेको पक्की पुल उद्घाटन गरेका पौडेलले ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोलामा बनेको पुलको पनि उद्घाटन गर्ने कार्यक्रम थियो ।

तर संघीय सरकारको बजेटमा बनेको पुल कसले उद्घाटन गर्ने भन्नेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी कांग्रेसबचि विवाद भयो । स्थानीय प्रशासनले पनि झडप हुने सम्भावना देखिएको भन्दै निषेधाज्ञा नै गर्‍यो । तर निषेधाज्ञालाई खारेज गर्छु भन्दै र्‍यालीसहित पुल उद्घाटन गर्न हिँडेका पौडेललाई बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

कांग्रेसकाे चर्काे विराेध

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरेको घटनाप्रति चर्को विरोध जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको आरोप लगाएका छन् । 

उनले विज्ञप्तिमार्फत घटना आपत्तिजनक एवं निन्दनीय भएको भन्दै सरकारको यो प्रवृत्तिविरुद्ध देशव्यापी विरोध हुने चेतावनीसमेत दिएका छन् । सभापति देउवाले नेता पौडेल तत्काल रिहा नगरे परिस्थितिको सामना गर्न सरकारलाई तयार भएर बस्न चेतावनीसमेत दिएका छन् ।

बुधबार दिउँसो तनहुँ जिल्ला व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बुल्दी खोलाको पुल उद्घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएको छ ।

नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल बुधबार स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर उद्घाटनका लागि पौडेललाई बोलाएका थिए ।

देउवाले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ,‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु । वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’

Categorized in राजनीति