दोविल्ला क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने
Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक ४, सोमबार
पोखरा महानगरपालिका–२१ स्थित दोविल्लालाई धार्मिकस्थलको रुपमा विकास गरिने भएको छ । दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले यस क्षेत्रलाई व्यवस्थापन तथा संरक्षण गर्दै हरित उद्यानका रुपमा समेत विकास गर्ने लक्ष्यका साथ यहाँको ८० रोपनी जमीनमा तीन वर्षयता विभिन्न प्रजातिका फलफूलसहितका बिरुवा रोप्दै आएको छ ।
समितिका अध्यक्ष भरत रायमाझीका अनुसार हालसम्म ६०० भन्दा बढी फलफूलसहितका बिरुवा रोपिसकिएको छ । समितिकै सक्रियतामा आइतबार यस क्षेत्रमा बृहत् वृक्षरोपण, फडानी, सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली सेनाको भगवती दल गण, फूलबारी ब्यारेकबाट सेनानी रमेशकुमार बञ्जाराको नेतृत्वमा ३१ सैनिक जवानले विशेष सहयोग गरेका थिए । त्यस्तै स्याङजाको टक्सार हलेदे, पोखराको विरौटा, रातोपैह्रा, महतगौडा, लामातरा, प्रगतिटोल, दोविल्ला टोल विकास संस्था, रघैचौर टोल विकास संस्था, भरतपोखरी, निर्मलपोखरी, दुवारटोल विकास संस्था, लामाखेत, बाँसपानी, चिलौनीखर्क, लामपाटा, शिवालय, फोक्सिङलगायतका स्थानबाट सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
‘संस्कार र संस्कृति बचाऔँ, सचेत र सभ्य नागरिक बनौँ’ भन्ने नारासहित समितिले दोविल्लाघाट क्षेत्रलाई पवित्र धार्मिकस्थलका रुपमा विकास योजना अघि सारेको अध्यक्ष रायमाझीले बताउनुभयो ।
वर्षौँदेखि घाटका रुपमा प्रयोग हुँदै आएको दोविल्लाघाटमा व्यवस्थित शव दाहस्थल, सार्वजनिक शौचालय, मलामीको आरामका लागि प्रतिक्षालय, शिव मन्दिर, बगँैचालगायत निर्माण गरिने समितिले जनाएको छ ।
Categorized in राष्ट्रिय


