निर्माण व्यवसायीहरू आन्दोलित, सडक र सिँचाइ विभागमा ताला
Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २८, आइतबार
काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघको तेस्रो चरणको आन्दोलन आइतबारदेखि सुरु भएको छ । आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघले ललितपुर चाकुपाटस्थित सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा नाराबाजीसहित धर्ना दिएर ताला लगाएको छ ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले सडक विभागमा ताला लगाएको थियो भने वरिष्ठ उपाध्यक्ष ई. आङ दोर्जी लामा (ए.डी.) नेतृत्वको टोलीले सिंचाई विभागमा ताला लगाएको हो । सिंचाई विभागमा ताला लगाउने क्रममा प्रहरीले हस्तक्षेप तथा धरपकड गरी वरिष्ठ उपाध्यक्ष ई। आङ दोर्जी लामा (ए.डी.) सहित ४६ जनालाई पक्राउ गरेको थियो । पक्राउ गरिएकालाई केही घण्टा जाउलाखेलस्थित ललितपुर प्रहरी परिसरमा राखिएको थियो ।
सडक विभागको भित्री कक्षमा ताला लगाएका व्यवसायीहरूले मुल गेट अगाडि तीन घण्टा धर्ना सहित नाराबाजी गर्दै व्यवसायीहरूको माग पूरा गर्न सरकारसँग माग गरेका थिए । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले सरकारी उदासीनताका कारण निर्माण उद्योग धराशायी हुन लागेको बताए।
‘सरकारी संयन्त्रबीचकै समन्वय अभावका कारण निर्माण व्यवसायीहरूले ठूलो मार खेप्नु परेको छ,’ अध्यक्ष सिहंले भने । महासंघले अहिले उठाएका मागहरू व्यवसायी केन्द्रीत भन्दा पनि मुलुकको समग्र निर्माण उद्योगलाई समृद्ध बनाउन लक्षित रहेको अध्यक्ष सिंहले स्पष्ट पारे ।
पहिलो र दोस्रो चरणको आन्दोलनपछि पनि सरकारले व्यवसायीहरूका जायज माग सम्बोधन नगरेका कारण बाध्य भएर तेस्रो चरणको आन्दोलन सुरु गरिएको अध्यक्ष सिंहले स्पष्ट पारे। सडक विभागको धर्ना पश्चात् अध्यक्ष सिंह नेतृत्वको टोलीले जावलाखेलस्थित प्रहरी परिसर अगाडि थुनामा रहेको निर्माण व्यवसायीहरूको तत्काल रिहाइको माग गर्दै नाराबाजी गरेपछि सबै व्यवसायीहरूलाई रिहा गरिएको थियो ।
आइतबारको विरोध कार्यक्रमलाई महासंघले सोमवार पनि निरन्तरता दिने भएको छ । व्यवसायीहरूको अरबौं रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, मूल्य समायोजन हुनुपर्ने, निर्माण व्यवसायी मैत्री ऐन नियम लागू हुनुपर्ने, निर्माण व्यवसायीहरूको माग सम्बोधनका लागि उच्चस्तरीय वार्ता टोली गठन हुनुपर्ने लगायतका १० बुँदे माग राखी व्यवसायीहरू साउन १४ देखि निरन्तर आन्दोलनमा छन् ।
आन्दोलनका कार्यक्रम अन्र्तगत व्यवसायीहरूले साउन १४ यता सार्वजनिक खरिद अनुगमन कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद्, माइतीघर मण्डला र सिंहदरवार अगाडि शान्तिपूर्ण धर्ना दिइसकेका छन् । यसैबीच महासंघको जारी आन्दोलनप्रति भारतीय निर्माण व्यवसायीहरूको साझा संस्था बिल्डर्स एसोसिएशन अफ इण्डियाले पूर्ण ऐक्यवद्धता जनाएको छ ।
Categorized in राजनीति

