STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाइने

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २६, बिहिबार

नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्यसमेत अघि बढाएको छ । “हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट निर्माणलगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, नगर प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो । नगरमा थुप्रै विकास निर्माणका काम जारी रहेको जनाउँदै उहाँले विकासमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताबीचको सहकार्य पनि सौहार्दपूर्ण रहेको उल्लेख गर्नुभयो । नेपालगञ्ज–४ स्थित साढे चार बिघा जमीनमा अत्याधुनिक बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको, नेपालगञ्ज–२ न्यूरोडस्थित आठकट्ठा जमीनमा अत्याधुनिक बहुउद्देश्यीय साततले भवन, नेपालगञ्ज–८ स्थित मङ्गलप्रसाद मावि परिसरमा महिला कलेजको भवन निर्माणलगायत आधा दर्जनभन्दा बढी योजना मुख्य प्राथमिकतामा रहेको जनाइएको छ । महिला कलेजका लागि रु आठ करोड बजेट विनियोजन गर्नाका साथै डिपिआर तयार गरेर निर्माणका लागि ठेक्का आह्वान गर्न काम अगाडि बढाइएको नगर प्रमुख राणाले बताउनुभयो । मुस्लिम, मधेशी र अल्पसङ्ख्यक समुदायका छात्रालाई उच्च शिक्षामा पहुँच बढाउन महिला कलेज स्थापना गर्न लागेको उहाँको भनाइ थियो । यसैगरी भुईतले पार्किङसहितको सुविधा सम्पन्न ‘सपिङ कम्प्लेक्स’ निर्माणका लागि डिपिआर तयार भएको र अब निर्माण प्रक्रिया पनि चाँडै शुरु गरिने जनाइएको छ । उपमहानगरपालिकाले नगरको फोहर व्यवस्थापन र सरसफाइलाई पनि उच्च प्राथमिकतामा राखेर हिरमिनियामा निर्माण गरिएको ‘ल्याण्डफिल्ड साइट’ यही वैशाखदेखि सञ्चालनमा ल्याइने र यसमा दैनिक ३० टनसम्म फोहर विसर्जन गर्न सकिने जनाइएको छ । यस्तै उपमहानगरपालिका–२१ मा खुला काञ्जी हाउस निर्माण गरेर १२३ पशुलाई आश्रय दिइएको छ भने सोही क्षेत्रमा गौशाला निर्माण थालिएको छ । “नगरमा भइरहेका विकास निर्माणको प्रगति र भावी योजना नियमित सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्छौं र विकास निर्माणका काममा सबै नगरवासीको सहयोग, समन्वय र सहकार्य पनि हामीलाई आवश्यक पर्छ”, नगर प्रमुख राणाले भन्नुभयो ।
Categorized in राष्ट्रिय